बैंक-वित्त

व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह

इकागज |
माघ १८, २०७९ बुधवार २१:८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् । 

बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई  परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरेका हुन् । 


उनले  व्यवसायीहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाई गर्ने गरिएको बताए । उनले कुनैपनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गरे । 

गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए । उनले ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको बताए । उनले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भएपनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताए । 

गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा  सहजता आउन लागेको बताए । तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गरे । उनले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताए । गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएको भएकाले बजारमा माग घटेको पनि उल्लेख गरे । 

उनले भने, ‘तपाईहरुले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्था अनुसार रिकोभरीका काम गर्नुस् भनेका छौँ । बैंकिङ सिस्टममा नर्मली त्यो हुँदैन तरपनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्शनको सन्दर्भमा हामीसँग डेडिकेटेट डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरु सुनुवाई गर्छ ।’ 

गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औंल्याए । उनले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने  बताए । उनले अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएर जानुपर्ने देखिएको बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताए । उनले  अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केहीकेही अस्थायी औजार हटाइसकिएको पनि बताए । 


Author

थप समाचार
x