बैंक-वित्त

अवैध 'वान एक्स बेट'मा सर्वसाधारणदेखि सेलिब्रेटीहरूकाे बाजी, किन माैन छ प्रहरी ?

कमल धिताल |
मंसिर २८, २०७९ बुधबार १८:५५ बजे

काठमाडाैं। नयाँ बसपार्कनजिक डेरा लिएर बसेका एक युवाले कतारमा जारी विश्वकप २०२२ मा अहिलेसम्म बाजी लगाएर ५६ हजार रुपैयाँ गुमाइसके । तरपनि उनले अझै बाजी लगाउन छाडेका छैनन् कारण हाे गुमेकाे पैसा फिर्ता आउने आशा ।  

'यसपालि ठूला र दाबेदार भनिएका टोलीहरू आउट हुँदा मैले ५६ हजार हारें' नाम नखुलाउने सर्तमा उनले भने,' अब आउने गेममा बेटिङ गरेर भएपनि यो रकम उठाउनुपर्छ, म यही याेजनामा छु ।'


उनले चालू विश्वकपमा याे पैसा कुनै चिनजानका साथीभाइ, आफन्तसँग हारेका हैनन् । उनले नेपालमा पनि अवैध रुपमा चलिरहेकाे बेटिङ एप वान एक्स बेटमा हारेका हुन् ।

उनकाे समूहमा वान एक्स बेटमार्फत बाजी राख्ने १५/२० जना छन्। याे समूहभित्र बेटिङमा गुमाउने मात्र होइन कमाउने पनि छन् । सोही समूहका अर्का सदस्य आफूले विश्वकपमा बेटिङ गरेर करिब ३० हजार कमाएको दाबी गर्छन् । 'वान एक्स बेट खेल्न पनि जान्नुपर्छ जथाभावी बेट राख्यो भने  डुबिन्छ हरेर खेल्यो भने यसबाट कमाइ पनि राम्रै हुन्छ।' उनले भने ।

यो त अवैध हो नि प्रहरीले समात्यो भने जेल सजाय हुन्छ भन्ने प्रश्नमा उनीहरू भन्छन् 'नेपालमा नेताहरूले करोडौँ रकम कुम्ल्याउँदा केही हुन्न हामीले साना बाजी राख्दा भने सरकारले अवैध बनाउने?'

उनीहरु बेटिङ हारजितमा मात्रै नभई खेलका विभिन्न पक्षहरुसँग राख्ने गर्दछन् । फ्रिकिक, पेनाल्टी, राताे तथा पहे‌लाे कार्ड, निर्धारित समयकाे नतिजा, कुन खेलाडीले गाेल गर्ने वा कार्ड खाने, कर्नर किकमा गाेल हुने या नहुनेजस्ता प्रसंगहरुमा पनि उनीहरुले बेटिङ गर्ने गरेकाे उनीहरु बताउँछन्।

याे अनलाइनमार्फत खेलिने बेटिङ भएकाले कति बेला के हुन्छ र कहाँनेर हार जितमा पुगिन्छ भन्ने अनुमान लगाउन कठिन हुने हुँदा पनि समयपिच्छे राेमाञ्चित भइने उनीहरुकाे अनुभव छ।

पैसाको बाजी लगाउनेहरु वान एक्स बेट प्लाटफर्ममार्फत् सौदाबाजी गर्छन्। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका नतिजाबारे दाबी र भविष्यवाणी गर्दै बाजी चल्छ। यस्तो गतिविधिमा नेपालका पनि युवापुस्ता संलग्न हुने गरेका हुन्। 

नेपालमा कतार विश्वकप सुरु भएसँगै वान एक्स बेट एपमार्फत बेटिङ निकै बढेको छ । उसाे त यसअघिका विश्वकप, युराेकप अनि अन्य खेलहरुमा पनि नभएकाे भने हाेइन । तर पहिलेकाे तुलनामा विश्वकपका खेलहरुमा विभिन्न टोलीमा अनलाइनमार्फत गरिने यस प्रकारको बेटिङ मौलाउदै गएको अनुमान लगाउन सकिन्छ। प्रहरीले पटक-पटक गरेर यसका एजेन्टहरूलाई पक्राउ गरेता पनि राजधानीका ठाउँ ठाउँमा वान एक्स बेटका एजेन्ट र यसका कारोबारीहरू भेटिने गरेका छन् । मंगलबारमात्रै सानेपाबाट वान एक्स बेट एपको एक एजेन्ट पक्राउ परेका थिए । वान एक्स बेटमा सजिलैसँग पैसा हाल्न मिल्ने हुँदा यस एपको प्रयोग बढ्दै गएको छ।

पैसा पठाउनको लागि वान एक्स बेटमा राखिएको कनेक्ट आइपीएस खाता

माथिका केही उदाहरण पात्र मात्रै हुन् पछिल्लो समय नेपालमा अनलाइन बेटिङको प्रयोग गर्ने निकै बढेका छन्। फिफा विश्वकप सुरु भएता वान एक्स बेटिङ एपमा पैसा लगानी गर्नेहरूको संख्या बढ्दै गएको छ । नेपालमा वान एक्स बेटलगायत विभिन्न अवैध सट्टेबाजी गर्ने अनलाइन बेटिङ साइट बन्द गर्न राष्ट्र बैंकले गत वर्ष नै निर्देशन दिए पनि अनुगमन नहुँदा यस्ता सट्टेबाजी गर्ने साइटहरूमा दैनिक लाखौँ रुपैयाँको सट्टाबाज हुने गरेको छ।

विश्वकपअघि क्रिकेटमा र अन्य क्लब स्तरीय गेमहरूमा बेटिङ गर्दै आएकाहरू फिफा विश्वकप सुरु भएसँगै यसप्रति आकर्षित भएका छन् । विश्वकपमा हरेक गेममा हजारौंदेखि लाखौँसम्म बेटिङ हुने गरेको छ।

पैसा पठाउनको लागि वान एक्स बेटमा राखिएको इसेवाको खाता नं

सामाजिक सञ्जालमा धेरै फलोअर्स भएका व्यक्ति तथा सेलिब्रेटीहरुले वान एक्स बेटको प्रयोग गर्न विज्ञापन गरेको पाइएको छ । युट्युबर तथा प्य्रांकस्टर एलिस राईले आफ्नो प्रत्येक भिडियोमा वान एक्स बेटको प्रचार गर्दै लिंक राख्ने गरेका छन् ।  अर्का प्य्रांक स्टार पवन खतिवडा 'म्याकुरी' ले पनि आफ्नो हरेक भिडियोमा वान एक्स बेटको प्रचार गर्ने गरेका छन् । झन्डै ७ लाख २८ हजार सदस्य रहेको युट्युब च्यायनल जलनमाले पनि आफ्नो प्रत्येक भिडियोमा वान एक्स बेटको प्रयोगको लागि विज्ञापन गरिरहेका हुन्छन् ।

पैसा पठाउनको लागि वान एक्स बेटमा राखिएको एनआइसी एशियाको खाता

यस्तै नेपाली हाँस्य कलाकार मरिचमान श्रेष्ठ 'बल्छी ध्रुवे' तथा कुमार कट्टेलको 'जेपिटी क्रिएसन' आफ्नो युट्युवको टेलिसिरियलमा पनि वान एक्स बेटको लिंक राख्ने गरेका थिए । पहिलाको भिडियोमा विज्ञापन नहटाए पनि हालका एपिसोडहरूमा भने यी दुई च्यानलले विज्ञापन गरेको पाइदैन।

यसरी विभिन्न खेलमा अनलाइन सट्टेबाजी गर्ने क्रम पछिल्लो समय बढ्दै गए पनि नियमक निकाय मौन बसेकाे पाइन्छ। प्रहरीले बेला बेला केही सट्टेबाजहरूलाई नियन्त्रणमा लिए पनि यसमा प्रयोग बढ्दै गएको पाइन्छ ।

अवैध सट्टेबाजीको प्रचारप्रसार गर्ने अन्य थुप्रै युट्युबर छन् । जसमा बल्छी ध्रुवेसमेत पर्छन् । हाँस्यात्मक प्रस्तुति दिने उनले समेत अरुले जस्तै वन एक्स बेटको प्रचार खुलेरै गर्ने गरेका छन् ।

पैसा पठाउनको लागि वान एक्स बेटमा राखिएको खल्तीको खाता नं.

प्रहरीको अपराध महाशाखाले समेत अवैध सट्टेबाजीमा संलग्नहरुको खोजी गरिरहेका बेला नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै वानएक्स बेटसहितका अनलाइन बेटिङहरु नेपालभर बन्द गर्न निर्देशन दिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले भने एउटै व्यक्तिले ९४ वटा सिमकार्ड लिएको विषयमा कसरी हुन गयो भन्ने बारेमा बुझ्दै गरेको बताउँछ। 'कुन कम्पनीको कसरी गयो भन्ने बारेमा जानकारी आएको छैन यसका बारेमा बुझ्दै छौ।' प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने ।

कसरी हुन्छ सट्टेबाजी?

अनलाइन सट्टेबाजीका लागि हुने साइटहरूमा नेपालका विभिन्न मोबाइल वालेटदेखि बैंक अकाउन्टसम्म प्रयोग हुने गरेका छन् । कुनै प्रयोगकर्ताले यस्ता एप वा मोबाइलमार्फत खाता खोलेपछि यसमा रकम हाल्नुपर्ने हुन्छ । रकम हाल्दा सिधै नेपाली बैंक तथा मोबाइल वालटेबाट हाल्न नपाइने हुँदा प्रयोगकर्ताहरूले यसका नेपालमा रहेका एजेन्टको वालेट वा बैंक खाता पठाउनु पर्ने हुन्छ जब एजेन्टको खातामा पैसा पुग्छ उसले प्रयोगकर्ताको खातामा उसले चाहेको रकम जम्मा गर्दिन्छ ।

वान एक्स बेट एपमा भने एनआईसी एसिया बैंकको खाता र खातावालाको नाम समेत रहेको छ। वान एक्स बेटमा राखिएको मोबाइल नम्बरमा पैसा लोडको कोटा पूरा भएपछि अर्को मोबाइल नम्बर राखिने गरेको छ । सोपश्चात प्रयोगकर्तालाई सोही पैसा लोड गर्नका लागि नयाँ नम्बर उपलब्ध हुने गरेको छ। एस एपमा पैसा लोड हुँदा मोबाइल वालेट तथा बैंकमा सम्पर्क नगर्न समेत सो एपमा अनुरोधको म्यासेज देखिन्छ ।

सुक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ : प्रहरी

मंगलबार मात्र प्रहरीले विश्वकपमा अनलाइनबाट जुवा खेलाएको भन्दै एक एजेन्टलाई पक्राउ गर्‍यो । ललितपुरबाट वानएक्स बेटका एजेन्ट आदर्श ठाकुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्‍यो र उनको साथबाट २ करोडभन्दा बढी कारोबार गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। थप अनुसन्धानपश्चात उनीबाट कारोबारमा संलग्न अन्य व्यक्तिहरूको बारेमा अनुसन्धानबाट थाहा हुने प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मोबाइल वालेटबाट २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको जानकारी दिए।

कोइरालाले भने, 'हामीले कसैको उजुरीमा भन्दा पनि सुक्ष्म रूपमा अनुसन्धान गर्दै छौँ अवैध जुवामा संलग्नहरूको खोजी गर्दैछौँ।' यस्तै एउटै व्यक्ति अन्यका नाममा ९४ वटा सिम कार्ड लिनुमा मोबाइल सेवा प्रदायकहरूले सिमकार्ड बिक्री गर्दा कुनै भेरिफाइ नगरेको बताए । 'एउटै व्यक्तिले अरूको नागरिकता प्रयोग गरी ९४ वटा सिम कार्ड लिएको देखिन्छ सेवा प्रदायक र नियमकले राम्रोसँग भेरिफाइ गरेको देखिएन।' उनले भने ।

विश्वकपसँगै अनलाइन बेटिङ तथा वान एक्स बेटजस्ता साइटहरू मार्फत सट्टेबाजी गर्नेहरूलाई प्रहरीले अनुसन्धान गरिरहेको र यसमा नलाग्न समेत चेतावनी दिएको छ।

राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुमा संलग्न नहुन सर्वसाधारणमा पटक पटक सूचना जारी गर्दै आएपनि यसको नियमन प्रभावकारी हुन नसक्दा यस्ता कारोबार बढ्दै गएको छ ।

विज्ञापन बोर्डले पनि गत वर्ष नै वान एक्स बेटिङ लगायतका साइटहरू बन्द गर्न निर्देशन दिए पनि हाल उक्त साइटहरू नेपालबाट निर्वाधरूपमा खुल्ने गरेका छन् । विज्ञापन बोर्डले डिजिटल प्लाटफर्ममार्फत् जुवामा लगानी भइरहेको सम्बन्धी विज्ञापन तत्काल रोक्न गत वर्ष नै निर्देशन दिएको थियो। यो काम विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएको भन्दै विज्ञापन बोर्डले तत्काल नरोके कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो।

विज्ञापन (नियमन गर्ने) ऐनले जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न र किनाउन प्रोत्साहन गर्ने विज्ञापन गर्न निषेध गरेको छ।

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x