बैंक-वित्त

निक्षेप ९ प्रतिशत तथा लगानी १३.१ प्रतिशतले बढ्यो

इकागज |
साउन ३१, २०७९ मगलवार १९:४१ बजे

काठमाडौँ - आर्थिक वर्ष २०७८/७९ को एक  वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस वर्ष कर्जा प्रवाह १३.१ प्रतिशतले बढेको हो अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ६३.६ प्रतिशत र ३६.४ प्रतिशत रहेको थियो।  २०७८/७९मा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरुको २९.८ प्रतिशतले बढेको छ ।


२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको छ ।

यस्तै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत रहेको छ । असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो । यसतै असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो ।


Author

थप समाचार
x