बैंक-वित्त

भारतीय पाँच सय र दुई हजारको नोट प्रचलनमा आउने व्यवस्था गर्न निजी क्षेत्रको सुझाव

इकागज |
असार २१, २०७९ मंगलबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी मौद्रिक नीति निर्यातलाई प्रवर्द्धन गरी व्यवस्थित गर्ने किसिमको आउनुपर्ने बताएका छन् ।

सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छाता संगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् । उनले अहिले आयात अव्यवस्थित रूपमा भइरहेकाले मुलुकमा उत्पादन हुने वस्तुको आयात नियन्त्रण गर्ने नीति आवश्यक रहेको जिकिर गरे ।


अध्यक्ष मल्लले बैंकहरुमा ब्याज बढ्ने किसिमको मौद्रिक आउन नहुने सुझाव दिए । उनले मौद्रिक नीतिले बैंकहरुले कर्जामा लिन प्रिमियम दर नियन्त्रण गर्नुपर्ने बताए । उनले भारतीय पाँच सय र दुई हजारको नोट प्रचलनमा आउने व्यवस्था गर्न सुझाव दिए ।

अध्यक्ष मल्लले बैंकिङ सुविधा ७५३ वटै स्थानीय तहसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे । उनले गत वर्ष सेयर धितो कर्जामा लगाएको ४/१२ को सीमा खारेज गर्नुपर्ने बताए।

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेशप्रसाद सिंहले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई कर्जामा प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले उद्योगहरुलाई एउटै रूपमा परिभाषा गरिएकाले घरेलु तथा साना उद्योगलाई उद्योगको क्षमतालाई हेरेर बैंकको ब्याजदर छुट्टै बनाउनुपर्ने बताए । अध्यक्ष सिंहले विगतमा कोभिड प्रभावित उद्योगलाई दिएको कर्जा सुविधालाई घरेलु तथा साना उद्योगमैत्री बनाउनुपर्ने उल्लेख गरे ।

घरेलु तथा साना उद्योगले प्रोजेक्ट धितो राखेर कर्जा लिन पाउनुपर्ने व्यवस्था गर्नुपर्ने अध्यक्ष सिंहको भनाइ छ ।  

 


Author

थप समाचार
x