अटो

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

इकागज |
मंसिर १८, २०७९ आइतवार १७:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालमा विद्युतीय सवारी साधनमा सर्वसाधारणहरूको चासो र आकर्षण बढ्न थालेको छ ।

गत शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको इभि नेपाल एक्स्पोमा सर्वसाधारणहरूको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भएको एक्स्पोमा दैनिक ७ सयभन्दा बढी विद्युतीय सवारी साधन अवलोकन कर्ताहरू आएको आयोजकले बताएको छ ।


नेपालमा विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधारणलाई विद्युतीय सवारी साधनको बारेमा जानकारी दिन सफल भएको आयोजककाे भनाइ छ । इभि एक्स्पोका आयोजक नारायण क्षेत्रीले तीन दिन भएको एक्स्पोमा विद्युतीय सवारी साधनप्रति सर्वसाधारणहरूको आकर्षण बढेको देखिएको जिकिर गरे । उनले एक्स्पोमा आयोजकले अपेक्षा गरेको भन्दा दोब्बर बढी सर्वसाधारणहरू एक्स्पो अवलोकन गर्न आएको उल्लेख गरे ।

क्षेत्रीले नेपालमा भारतीय कम्पनीका धेरै विद्युतीय सवारीका कम्पनीहरू आउन चाहेको बताए । उनले नेपालमा विद्युतीय सवारी भित्र्याउने मात्रै नभइ विद्युतीय सवारी साधनको व्यवस्थापन आवश्यक रहेको जनाए । उनका अनुसार विद्युतीय सवारी साधनका लागि सरकारले मुलुकभर चार्जिङ स्टेसन बनाउन आवश्यक छ । अबको पाँच वर्षमा ५० प्रतिशत विद्युतीय सवारी साधन पुर्‍याए मात्रै पनि धेरै नेपाली पैसा नेपाल भित्र नै रहने उनकाे भनाइ छ ।

त्यस्तै विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेले पछिल्लो समय मानिसहरूको विद्युतीय सवारी साधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेको भन्दा बढी अवलोकन कर्ताहरू आएको जानकारी दिए । उनले नेपालमा अब विद्युतीय सवारी साधनहरूको भन्दा अरूको सम्भावना कम रहेको पनि बताए । उनले विद्युतीय सवारी साधनप्रति मानिसहरूको आकर्षण बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

त्यस्तै, इभी नेपाल एक्स्पोका मिडिया संयोजक भुषणकुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय बजारका मानिसहरू नेपालमा आएर विद्युतीय सवारी साधनको एक्स्पो गर्दासमेत सर्वसाधारणको उपस्थित राम्रो छ । एक्स्पोमा भएको उपस्थितिले नेपालीहरूको विद्युतीय सवारी साधनप्रति आकर्षण बढेको बुझ्न सकिने उनले बताए ।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्छ ।

एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । 


Author

थप समाचार
x