कला

प्रज्ञाका कुलपति चीन मामिला विज्ञ!

प्रज्ञा प्रतिष्ठानका कुलपति भन्छन्, 'चीनले आफ्नो नाका बन्द गर्‍यो त के टाउको दुखाइ ?'

अनिष भट्टराई |
चैत ११, २०७८ १९:११ बजे

काठमाडौँ–  नेपाल प्रज्ञा प्रतिष्ठानको काम के हो ? भाषा, साहित्य, कला संस्कृति, समाज र दर्शनका क्षेत्रमा काम गर्ने । अनि प्रज्ञा प्रतिष्ठानका कुलपतिको ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ– कला, साहित्य, भाषा, संस्कृतिका क्षेत्रमा काम गर्ने । तर अहिले भने यो मेल खाँदैन । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती भने अहिले राजनीतिक तर्क, छेडखानी गर्न व्यस्त छन् । चीन सम्बन्धको विज्ञ भइ हिँड्दा गर्व गर्छन् । 

गत मंगलबार कुलपति उप्रेतीले एक टेलिभिजनमा अन्तर्वार्ता दिएका छन् । जसमा उनी ‘नेपाल–चीन मामिलाका विज्ञ’ भएर मात्र उपस्थित भएका छैनन्, पदीय मर्यादा भुलेर एक पार्टी विशेषको कार्यकर्ताझैं वर्तमान सरकारमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन् । 


सो अन्तर्वार्तामा उप्रेतीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), अमेरिकी सहयोग परियोजना (एमसीसी), नेपाल चीन सम्बन्ध, विश्व राजनीतिदेखि चीनको महिमागान गरे । 

एमसीसी लिने/नलिने नेपालको आन्तरिक मामिला भएकाले चीनले हस्तक्षेप गर्न नचाहेको उनले बताए । एमसीसी प्राविधिक रुपमा नेपाल छिरेपनि बढो रहस्यमा रहेको र जनताले समर्थन भने नगरेको उनको तर्क थियो । 

एमसीसी अनुमोदन गरेपछि नेपालको अन्तर्राष्ट्रिय अडानमा विचलन देखिएको बताएका छन् । भारत र चीन तटस्थ बसेको बेला रुस–युक्रेन मामिलामा युक्रेनको पक्षमा गएर नेपालले भोट दिएको बारे पनि चीनले बुझ्न चाहेको उनको विश्लेषण थियो । ‘त्यो जनताको मत थियो कि प्राविधिक रुपमा बनेको सरकारको मत थियो ? यो पनि चिनियाँहरुले बुझ्न खोजिरहेका छन्,’ उनले भनेका छन् । 

एमसीसी अनुदानबाट आएको रकम ठूलो नभएको र यसले देशको सुरक्षामा संकट आउन दिन नहुने उनको तर्क थियो । ‘त्यो मुला जुन रकम हो, विश्वको सहयोगमा सानो रकम हो । त्यति ठूलो रकम त होइन,’ उनले भने, ‘तर त्यसको बहानामा  हाम्रो सुरक्षामा तल माथि कुनै कुरा आयो भने मात्र सेन्सिटिभ कुरा हुन्छ ।’ सत्ता गठबन्धनले एमसीसीको एकतर्फी व्याख्यात्मक घोषणा गरेपनि यसको कुनै कानुनी आधार नहुने उनको दाबी छ । 

बीआरआईमा नेपालले गरेका केही केही प्रतिबद्धताका बारे बुझ्न चिनियाँ विदेश मन्त्री नेपाल आउन लागेको उनको अनुमान थियो । बीआरआईमा सिर्जित भ्रमले ल्याएको शिथिलतालाई कसरी हटाउने भन्नेबारे बुझ्न पनि भ्रमण गर्न लागिएको उनले बताए । 

बीआरआई कार्यान्वयन  सम्झौता गरेर केपी ओली नेतृत्वको तत्कालिन सरकारले नेपालको अस्थित्वकै लागि ठूलो निर्णय गरेको भन्दै उनले भक्तिगान थाले । ‘नेपालको अस्थित्वका लागि ठूलो निर्णय मान्छु म, भुपरिवेष्ठित भएर बस्दा नेपालको विकास हुने स्थिति थिएन,’ उनले भने । 

उनले सत्ता गठबन्धनलाई घुमाउरो पारामा एमाले नेताकै भाषामा ‘परमादेशी’ समेत भने । ‘.....सत्ता समिकरण पनि प्राविधिक रुपमा बन्यो, स्वाभाविक रुपमा बनेन । अदालत गएर बनाउनुपर्यो,’ उनको तर्क थियो । 

नेपाल एकेडेमीको फेसबुकपेजमा सेयर गरिएको अन्तर्वार्ता

बीआरआइमा ध्यान नपुग्नुमा नेपालकै आन्तरिक राजनीतिका गडबडी कारक भएको हुन सक्ने उनको अनुमान थियो ।  ‘बीआरआइ त्यत्रो ठूलो योजनामा कमिटमेन्ट गरेर पनि अघि बढेन । यहाँका गडबडीले सरकारको दृष्टि नपुगेको हो कि ? किनकि यो सरकार पनि पूर्ण जनमतको सरकार त हुँदै होइन, अदालतबाट गठित भएको सरकार हो,’ उनले थप व्याख्या गरे । 

बीआरआईको काम गर्दा एमसीसीको काम नरोकिने उनको दाबी थियो । ट्रान्समिसन लाइन बनाउने क्षेत्रमै बीआरआईको पनि योजना छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘यत्रो प्रोजेक्टको सुरक्षा भएन, हामीले आफैं सुरक्षा गर्नुपर्यो भनेर निहुँ खोजेर सेनाको हस्तक्षेप भयो भने छुट्टै कुरा भयो ।’

वर्तमान सरकारका कारण विस्तारै दुई छिमेकीसँगको पराम्परागत सम्बन्ध चिप्लँदै गएको आधार देखिएको उनको आरोप छ । चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन्छ कि भन्ने आशंका चिनियाँमा केहीकेही रहेको उनले बताए । 

तर चीनविरुद्ध जसले घेराबन्दी गरेपनि चीन आफ्नो सुरक्षाका लागि सक्षम रहेको उनको तर्क थियो । चीनबारे नकारात्मक दृष्टिकोण राखेर चीन ‘माइनस’ गरे विश्व नचल्ने उनको दाबी थियो ।  ‘अमेरिका, जापान वा अरु कसैले फुइँ लाएपनि चिनियाँलाई माइनस लगाएर संसार चल्न सक्दैन । उसलाई यी सानातिना घटनाले खल्बल्याउन सक्दैन,’ उनको विश्लेषण थियो । 

अहिले केही दलले चीनसँग सीमा समस्या छ, चीनले सीमा मिच्यो भनेर हल्ला गरिरहेको भन्दै प्रमााणित गर्न उनको चुनौती थियो । ‘चीनले सीमा मिचेको छैन । कहाँ मिचेको छ देखाउन् न त ?’ उनले भने । अहिले नेपाली राजनीति ‘फुच्चे दाउ’ ले चलिरहेको पनि बताए । चीनले आफ्नो नाका जुनसुकै बेला बन्द गर्न सक्ने र अहिले कोभिडकै कारण नाकाहरु बन्द रहेको उनको आँकलन छ । नेपालको सुरक्षामा ठूलो आड भरोसा ‘चीनियाँ मित्रहरु’कै भएको पनि उनको दाबी थियो । 

भाषा, कला साहित्य, संस्कृति, दर्शनका क्षेत्रमा नाम कमाएका मान्छे भने होइनन् उप्रेती । उनी प्राज्ञ नियुक्त भएपछि उनकै साथी तथा लेखक खगेन्द्र संग्रौलाले कान्तिपुरमा एउटा लेखमा लेखेका छन्, ‘पार्टी मुख्यालय प्रेत प्राज्ञ उत्पादन गर्ने कारखाना हो । जसलाई प्रेत प्राज्ञ बन्नुछ, उसले त्यो कारखानामा गम्भीर साधना गर्छ । उसले पार्टी मुख्यालयका भगवानतुल्य बोसहरूको दिनदिनै भजन गाउँछ । उसले तिनका पाउमा भेटी चढाउँछ । चाप्लुसीका अनेक कलाहरूद्वारा उसले आफ्ना बोसहरूलाई प्रसन्न तुल्याउँछ । र ख्वामितहरूको निगाहबाट उसलाई प्रेत प्राज्ञको लाभदायक पद प्राप्त हुन्छ ।’

लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, भूपी शेरचन, मदनमणी दीक्षित जस्ता व्यक्ति प्राज्ञ बनेर बसेको सो प्रतिष्ठानमा उप्रेती यस्ता कुलपति हुन् जसका कुनै किताब चर्चित छैन, गरेका कुनै कामको सम्झनालायक अभिलेख छैन । 

कला साहित्य, भाषा, संस्कृतिको क्षेत्रमा धेरै काम नदेखाएका उप्रेती नै दुईपटक कुलपतिमा दोहोरिने पात्र हुन् । उनी त्यसअघि प्रतिष्ठानको उपकुलपति थिए । अहिले उनी कुलपति कम, पार्टीको कार्यकर्ता बढी सुनिन थालेका छन् । आफ्नो पदीय मर्यादा, आचरण भुलेर उनी चीन मामिला विज्ञ बनेर हिँड्नु जनताका लागि भ्रामक त छ नै, प्रतिष्ठानले बिर्सनलायक कुलपति बन्ने बाटोमा छन् । 

‘प्रतिष्ठानको प्रशासन शाखा प्रमुख हुन अयोग्य मान्छे झोला बोकेर कुलपति बने’

सबैभन्दा पहिला गंगाप्रसाद उप्रेती कुलपति हुन योग्य व्यक्ति नै होइन । केपी ओलीको झोला बोकेकाले उनलाई कुलपति बनाइएको हो । योग्यता, अनुभव, बाङ्मयको क्षेत्रमा गरेको कामले, विद्धताको हिसाबले प्रतिष्ठानको प्रशासन शाखाको प्रमुख हुन पनि योग्य मान्छे होइनन् । तर पहिला उप–कुलपति र दुई पटक कुलपति बनिसके, यो किन हो भने झापा विद्रोह कालमा केपी ओलीको झोला बोकेर हिँडेको भएर यहाँ आइसकेका हुन् । हरि अधिकारी, लेखक

अर्को कुरा के हो भने उनी चीन अध्ययन केन्द्रको महासचिव बनिसकेका मान्छे हुन् । यो केन्द्र भनेको कस्तो हो भने चीनले आफ्नो पक्षमा वातावरण बनाउन पेड एजेन्टहरुलाई जम्मा गरेर बनाएको हो । जहिले पनि नेपालको भन्दा चीनको हितलाई ध्यान राख्ने मान्छे त्यहाँ राखिएका हुन्छन् । चीन र भारतबीच चयन गर्न पर्दा उनीहरुले भारतलाई सिधै गाली गर्छन् भने नेपाल–चीनबीच पनि उनीहरुले नेपालभन्दा चीनलाई माथि राखेर हेर्छन् । 

डिप्लोमेटिक, अन्तर्राष्ट्रिय मामिलामा एकेडेमीको कुलपति आएर कुनै मिडियामा बोल्ने होइन । यो दुर्भाग्यपूर्ण कुरा हो । एकेडेमीको जुन स्वच्छता छ, गरिमा छ त्यसमाथि नै अतिक्रमण भएको छ । अहिले कुलपतिले आफ्नो निजी गरिमा पनि बिर्से, आफ्नो पदीय मर्यादा पनि बिर्सेर जथाभावी बोलेका छन् । 

के बुझ्नु पर्यो भने एकेडेमीको मान्छेले राज्यले लिएको नीति, कुटनीतिका बारेमा पक्ष÷विपक्षमा बोल्ने नै होइन । एकेडेमीको मान्छेले भाषा, साहित्य, कला, सामाजिक विषयमा राय दिन मिल्छ । तर एमसीसी त संसदको क्षेत्राधिकारको कुरा थियो । संसदकै निर्णयमा चल्ने हो, संसदले गरेको निर्णयका विरुद्धमा बोल्ने उनको अधिकार होइन । एक मिनेट पनि त्यो कुर्चीमा बस्न लायक छैनन् । 

झट्ट हेर्दा यिनलाई किन कारबाही नगर्ने ? भन्ने हुन्छ । तर व्यवहारिक रुपमा यो एकदमै मर्यादित पदमा बसेका मान्छेले बाटो बिराए कारबाही गर्ने सम्भावना न्यून हुन्छ । किनभने कुलपति भएको मान्छेले यस्तो गर्नै नहुने कुरा गर्दै हिँड्ला भनेर परिकल्पनै नगरेको हुँदा के सजाय दिने भन्ने व्यवस्था नै छैन । त्यसकारण उनलाई कारबाही गर्ने भन्दा पनि उनले गरेको नचाहिने कामको बारेमा, विरुद्धमा व्यापक जनमत बन्यो भने दण्ड त्यहीँ हुन्छ । 



Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
ad
x