कला

हिस्स नम्रता !

इकागज |
चैत २, २०७७ सोमवार १६:३८ बजे

काठमाडौं :  नेपालका फिल्म अवार्डमा कोही कलाकार उपस्थित भयो भने बुझ्नु पर्छ, उसले अवार्ड पाउँदैछ । नत्र आफूले पाउने संकेत पाएनन् भने कलाकार अवार्ड हुने भेन्यु मरिगए टेक्दैनन् । आजभोलि हुने फिल्म अवार्डको नियति यही हो । त्यसैले आयोजक पहिले नै अवार्ड पाउने ‘हिन्ट्स’ सहित कलाकार बोलाउँछन् । कलाकार पनि दंग परेर आउँछन् । 

तर, सधैं त्यस्तो नहुन सक्छ । गत शनिबार सम्पन्न नेपाल चलचित्र प्राविधिक संघले गरेको नेफ्टा अवार्डमा यस्तै अनपेक्षित दृश्य देखियो । शनिबार सोल्टी होटलमा वितरण गरिएको कार्यक्रममा जो जो कलाकार आए लगभग अवार्ड बोकेरै गए ।


सुहाना थापा अघिल्लो दिन नै गीतको सुटिङका लागि से–फोक्सुन्डो उड्नु पर्ने थियो तर अवार्ड थाप्नकै लागि एक दिन बसिन् । यसैगरी फिल्मका कार्यक्रममा विरलै देखिने साम्राज्ञीराज्य लक्ष्मी शाह पनि लोकप्रिय अभिनेत्रीको अवार्ड थाप्न समारोहमा उपस्थित थिइन् ।

अवार्ड पाउने संकेत पाएर नै हम्मेसी कतै नहिँड्ने बिपिन कार्की पनि रातिसम्म आफ्नो पालो कुरेर बसिरहेका थिए ।  यसरी जो समारोहमा थिए ती खालिहात फर्केनन् ।  यो भिडमा चिटिक्क परेर आएकी थिइन्, नम्रता श्रेष्ठ पनि । नयाँ फिल्मका हिरो विनय श्रेष्ठ र शारुक ताम्राकारसँग आएकी नम्रता ६ घन्टा लामो अवार्ड समारोहमा ढुक्कै बसिन् ।

बीचबीचमा शारुकको हात समातेर यताउति गरिरहन्थिन् त्यो बेग्लै कुरा भयो । तर, यति लामो समारोहमा नम्रता बस्नुको मतलब थियो ‘प्रसाद’बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी नम्रताले अवार्ड पाउँदैछिन् । किनकि सोही विधामा मनोनयनमा परेका अन्य अभिनेत्री कार्यक्रममा थिएनन् ।

उत्कृष्ट अभिनेत्रीको मनोनयनमा नम्रताको प्रतिस्पर्धा मेनुका प्रधान, दीपिका प्रसाइँ, सृष्टि श्रेष्ठ र पूजा शर्मासँग थियो । तर, समारोहमा चारै जना अनुपस्थित ।
तर जब उत्कृष्ट अभिनेत्रीको नाम घोषणा भयो, नम्रताको होइन मेनुकाका नाम आयो ।

मेनुकाले ‘साइँली’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् । नम्रता हिस्स भइन् । २०७५ सालमै रिलिज भएको फिल्म ‘बुलबुल’ले धेरै अवार्डलाई मूल्यांकनका लागि फिल्म नदिँदा नम्रतालाई चिठ्ठा पर्ने गरेको थियो । नत्र त ‘बुलबुल’बाट स्वस्तिमा खड्का निर्विवाद विजेता थिइन् ।

नेफ्टामा पनि ‘बुलबुल’ समावेश थिएन । यसपछि स्वस्तिमाको विकल्प नम्रता नै हुन् भन्नेमा कसैलाई दुविधा थिएन । तर, जुरीले नम्रतालाई छाडेर मेनुकालाई योग्य मान्यो । नम्रता त्यत्रो समय बसेको खेरै गयो ।  


Author

थप समाचार
x