कला

नेफ्टा अवार्डमा देखिएका दृश्य जसले बताउँछन् पल शाह र गरिमा शर्माको प्रेमकहानी

इकागज |
चैत १, २०७७ आइतबार १४:४५ बजे

नेफ्टा अवार्डमा नृत्य गर्दै पल शाह र गरिमा शर्मा । तस्बिर सौजन्य : शंकर गिरी

काठमाडौं :  कलाकारहरूको जोसँग धेरै काम गर्यो उसैसँग मायाप्रीति बसिहाल्छ । संसारभरि नै फिल्मको सुटिङका लागि एक्लाएक्लै सेटमा छिरेका हिरो हिरोइन जोडी भएर निस्कन्छन् । 

‘नाइँ नभन्नू ल ४’ यसरी नै एक्लाएक्लै सेटमा छिरेका पल शाह र आँचल शर्मा सुटिङ सक्दासम्म जोडी बनेर निस्किएका थिए । यसरी ५ वर्ष लगभग अफेयरमा रहेका पल र आँचल, आँचलको उदिप श्रेष्ठसँग विवाह गर्ने निर्णय गरेसँगै छुटे ।


त्यसयता ट्रयाजेडीको घाउचोट बोकेर हिँडिरहेका पलले नयाँ साथी भेटेका छन् । उनले भेटेको साथी हालसालै म्युजिक भिडियोमा व्यस्त हुँदै गएकी गरिमा शर्मा हुन् । 
उनीहरूको अफेयरको खबर गत हप्ता भएको म्युजिक भिडियो अवार्डको मनोनयनका क्रममा पुष्टि भएको थियो । त्यो समारोहमा जानीजानी उनीहरू अगाडि पछाडि बसेका थिए । तर, गरिमाका आँखा घरिघरि पल शाहलाई हेर्न पछि फर्किरहन्थे । 

हिजो शनिबार सम्पन्न नेफ्टा अवार्डमा देखिएका दृश्यले भने दुवै गहिरो प्रेममा रहेको आभास दिन्थ्यो । सबैभन्दा पहिला त एकाध दिन अघिसम्म पनि पल शाह कार्यक्रममा नाच्ने कुनै तयारी थिएन । अवार्ड समारोहमा नाच्ने कलाकारको लिस्टमा पल शाह थिएनन् ।

तर, अचानक पल शाहले नाच्ने निर्णय मात्र गरेनन् यसका लागि जोडीको रुपमा गरिमा शर्मालाई नै छाने । नाच्दा अभ्यास नपुगेको स्पष्ट देखिन्थ्यो तर दुवैको केमेस्ट्री गज्जबको थियो । पलले गरिमालाई सिक्वेन्समा निर्धक्क लिफ्ट गर्ने, अँगालो मार्ने आदि काम गरेका थिए ।

यसले पनि दुवैबीच तात्तातो माया रहेको आभास दिन्थ्यो । नाच्नेभन्दा बाहेक पनि गरिमा हरदम पलको संरक्षणमा थिइन् । आउँदा सँगै आए, जाँदा सँगै गए । बस्दा चेन्जिङ रुममा पनि सँगै बसे ।

 

पल शाह र गरिमाको अफेयरको शंकालाई पुष्टि गर्ने अर्को दृश्य थियो दुवैको बेग्लाबेग्लै एक्जिट । कार्यक्रममा नाचे पछि प्राविधिकलाई महामारीको समयमा नगद सहयोग गरेको भन्दै संघले उनलाई सम्मान पनि गरेको थियो ।

सम्मान पाइसकेपछि पल शाह बडीगार्डले घेरिएर बाहिर निस्के । पललाई गाडीमा राखे पछि फेरि तिनै बडीगार्ड गरिमालाई लिन आए र गरिमा पलकै सहयोगीसँग निस्किइन् । यसरी पत्रकारको आँखा अगाडिबाट निस्कन खोज्नुको मतलब स्पष्ट थियो, पल र गरिमासँगको सम्बन्ध लुकाउन चाहान्छन् । नत्र त पललाई स्कर्टिङ गर्दा सहयोगीले सँगै गरिमालाई पनि लैजान्थे । तर, बेग्लाबेग्लै गए । मतलब पल र गरिमालाई मनको बाघले खायो ।

कसरी सुरु भयो प्रेम ? 

दुवै निकट स्रोतहरू भन्छन्, दुवैको प्रेम म्युजिक भिडियोको सेटबाट सुरु भएको हो । चितवनकी गरिमा लकडाउनकै बीचमा म्युजिक भिडियोमा उदाइन् । पल शाहमा मोटो रकम खर्चिएपछि ठिकैकी मोडल खोज्दै जाँदा म्युजिक भिडियो निर्देशकको नजरमा गरिमा उपयुक्त ठहरिन् ।

यसरी पल शाहसँग गरिमाले केही भिडियो गरिन् । तर, भिडियोमा उनलाई चिनाएको हो अर्जुन पोखरेलको संगीत रहेको गीत ‘नबोली नबोली’ ले । सुधिर श्रेष्ठसँग अभिनय गरेको यो गीत करोड छेऊछाऊमा पुग्न लागेको छ । 

तर, पल र गरिमाको ‘लभ पार्ने ’ गीत हो, थारु गीत ‘दि गिन गिन’ । थारु भाषामा गाइएको यो गीत बाँके र बर्दियाका विभिन्न स्थानमा हप्ता दिनको समय लगाएर खिचिएको थियो । यही गीत खिच्ने क्रममा लामो समय बिताएपछि दुवैबीच माया गाढा भएको स्रोत बताउँछ ।

त्यसयता भने पलले आफूलाई अफर गरिएका गीतमा गरिमालाई पनि रेकमन्ड गर्ने गरेको वा आँचलसँग हुँदा झैं पललाई प्रस्ताव लिएर जानेले आफैं बुझेर गरिमालाई नै फिमेल मोडलमा अफर गर्ने गरेको भुक्तभोगी बताउँछन् । 

को हुन् गरिमा ? 
पलसँग निकट देखिएकी गरिमा शर्मा सुरु सुरुमा भने आफू अभिनेता प्रदीप खड्काको डाईहार्ड फ्यान रहेको बताउँथिन् । तर, रहँदाबस्दा उनको माया बस्यो प्रदीपकै समकालीन पल शाहसँग । 

चितवनको टाँडी मुलघर भएकी गरिमा गरिमा काठमाडौं स्कुल अफ लमा ब्याचलरकी विद्यार्थी हुन् भने उनको बुबा ममी दुवैजना शिक्षक हुन् ।
‘नबोली नबोली’बाट चर्चामा आउनु अघि उनले शिव बिकको लोकदोहोरी र समीर आचार्यको गीतमा अभिनय गरेकी थिइन् । टिकटकमा लोकप्रिय गरिमालाई टिकटकमा देखेर नै म्युजिक भिडियोमा लिने क्रम सुरु भएको थियो । उनले पललाई सुपरस्टार भन्ने गरेकी छिन् । 


 


Author

थप समाचार
x