कला

सिनेमा समीक्षा

अस्करमा ‘भुटानको भाषा’, अमेरिकामा भुटानी शरणार्थी

भुटानबाट ‘ह्याप्पिनेस’ त बन्यो, नेपालबाट ‘हिप्पोक्रेसी’ कहिले बन्छ ?

सामीप्यराज तिमल्सेना |
माघ २८, २०७८ शुक्रबार १४:५९ बजे

काठमाडौँ - मंगलबार सार्वजनिक भएको अस्करको ९४ औँ संस्करणमा भुटानी फिल्म ‘लुनाना : अ याक इन अ क्लास रुम’ अन्तर्राष्ट्रिय फिचर फिल्म विधातर्फ अन्तिम ५ मा छनोट भएसँगै  सानो हिमाली राज्य भुटान विश्वका फिल्मकर्मीबीच ‘टकिङ प्वाइन्ट’ बनेको छ । विश्वको  जम्मा ७ लाख ५४ हजार हाराहारी जनसंख्या भएको भुटानले वर्षमा मुस्किलले आठ–दस फिल्म बनाउँछ । तर सन् ९० को मध्यतिरबाट सिनेमा बनाउन सुरु गरेको भुटानी फिल्मले छोटो समयमै अस्करमा पाएको यो उपलब्धिले धेरैलाई चनाखो बनाएको छ । भुटानबाट दोस्रो फिल्मका रूपमा अस्कर पुगेको फिल्मले उत्कृष्ट १५ हुँदै अन्तिम ५ को यात्रा तय गरेको थियो ।

१ घन्टा ५० मिनेट लामो ‘लुनाना : याक इन अ क्लास रुम’ले १५ हजार ७४८ फिट उचाइमा रहेको गाउँमा रहेको एउटा विद्यालयमा पढाउने जाने शिक्षक उगेन दोर्जे (सेराब दोर्जे) को जीवन खिप्छ जो पढाउने कुरामा फिटिक्कै रुचि राख्दैन । तर नियतिले उसको भागमा त्यही काम परेको छ । भुटानमा ५ वर्ष सरकारको अनिवार्य सेवा गर्नैपर्छ र उगेनले जेनतेन ४ वर्ष पूरा गरिसकेको छ ।


तर बाँकी १ वर्ष शिक्षक नै भई बस्‍न उसको मनले मानेको छैन । शिक्षा सचिवलाई यही कुरा जाहेर गर्दा सचिवले उल्टै उगेनलाई थमाउँछिन्, भुटानको सबैभन्दा दुर्गम ठाउँ ‘लुनाना’को ठेगाना । उचाइको कुरा त भइहाल्यो, यहाँ पुग्न गाडी जाने बाटो छाडेर नै ८ दिन हिँड्नुपर्छ । फिल्ममा उगेनको साथी बनेको चौंरी गोठालो मिचेनले त कतिसम्म दाबी गर्छ भने लुनानाको स्कुल संसारकै सबैभन्दा दुर्गम ठाउँमा भएको स्कुल हो ।

पढाउनमा नै चाख नभएको शिक्षक यति अनकन्टार ठाउँमा जाला कि नजाला ? तर पहिलोपल्ट फिल्म निर्देशनमा हात हालेका पाओ छोइङ दोर्जेले यस्ता कुनै प्रश्नको उत्तरका लागि सिनेमा बनाएका छैनन् । उनले फिल्ममार्फत भुटानीको जरा प्रेम र प्रकृति तथा मान्छेबीचको सम्बन्धलाई त्यहाँका अधिकांश जनताले मान्‍ने बुद्ध धर्मको बुद्ध मन्त्रझैँ सुस्त गतिमा पेस गरेका छन् ।

भुटानको ताजा दाबीअनुसार भुटान ‘ह्याप्पिनेस इन्डेक्स’मा सबैभन्दा बढी अंक पाउने राष्ट्र हो । यदि गणनै गरेर यो तथ्यांक निकालेको हो भने उगेन पक्कै यसमा पर्दैन । उगेनलाई शिक्षण पेसा मात्र मन नपरेको हैन ऊ त भुटान छाडेर अस्ट्रेलिया जाने सपना पालेर बसेको छ । उसका लागि यही सरकारी सेवा घाँडो बनेको छ । यही अनिच्छाका बीच निर्देशकले उगेनलाई लुनानाको यात्रा गराएका छन् ।

तर यात्रामा आउने ठाउँसँगै त्यसको उचाइ र त्यहाँको जनघनत्व देखाएर निर्देशकले ‘ह्याप्पिनेस इन्डेक्स’लाई व्यंग्य गरेका छन् । किनकि उगेनझैं धेरै मान्छे आफ्नो पुर्ख्यौली थातथलो छाडेर खुसीको खोजीमा नयाँ ठाउँ बसाइँ सरिरहेका छन् । उगेन स्वयं पनि लुनानाका लागि ब्यागप्याक गर्नुअघि साथीलाई अस्ट्रेलिया जाने कागजपत्र छाडेर यात्रामा निस्किएको छ । 

तर लुनानामा पुगेको भालिपल्ट उगेनको मन एकै रहन्न । आफ्नी हजुरआमासँग बस्‍ने सानी पेमा जामले बिहानै उगेनलाई उठाउँदै आफूहरूको पढ्ने समय घर्किसकेको बताउँदा अघिल्लो दिन थिम्पु फर्कन गधाको बन्दोबस्त गर्न अह्राएको उगेनको मन अमिलो हुन्छ । यसपछि भने निश्छल पेमाले मात्र होइन, त्यहाँका मानिसको शिक्षाप्रतिको प्रेम, लुनानाको प्रकृति र संस्कारले पनि उगेनको मन फेरिन्छ ।

समय बित्दै जाँदा उगेन केटाकेटीलाई पढाउन यति धेरै दत्तचित्त हुन्छ कि उसले कक्षा कोठामा ब्ल्याकबोर्ड बनाउँछ, ब्ल्याकबोर्ड लेख्ने खरीको आविष्कार गर्छ र विद्यार्थीले लेख्ने कपी सकिएपछि उगेनलाई चिसो हावाले दुःख नदेओस् भनेर बारेको पहाडे कागज उप्काएर विद्यार्थीलाई दिन्छ । बालबालिकाको शिक्षाप्रति एउटा शिक्षकको समर्पण देखिने फिल्मभित्र रहेका अनेकौँ सुन्दर दृश्यमध्ये एक हो ।

फिल्मको देखिने कथा शिक्षाको महत्व हो । भुटान सरकारले राज्यका हरेक कुनामा रहेका विद्यार्थीलाई शिक्षित बनाउने महत्वकांक्षी योजना राखेको छ । भुटान सरकारको यो आदर्शलाई फिल्मले विनाकुनै संकोच महिमागान गरेको छ । तर यो फिल्मले समानान्तर रूपमा आदिवासीको पारम्परिक ज्ञान र प्रकृतिसँगको सुन्दर अन्तक्र्रियालाई पनि लोभलाग्दा तरिकाले प्रस्तुत गरेको छ । 

सहरमा आफूलाई भयंकर सुरसाधक दाबी गर्ने उगेन जब गाउँमा आउँछ, साल्डोनको गायकीले उसलाई लोभ्याउँछ । तर जब साल्डोनले गाएझैँ गाउन खोज्छ, सक्दैन । आफूलाई दामी गायक ठान्ने उगेन साल्डोनको चेला बन्न तयार हुन्छ । सहरले परम्परागत कला र लोकलयसँग समर्पण गरेको दृश्य फिल्ममा रहेको यो अर्को एउटा सुन्दर दृश्य हो । 

लुनानाको मेरुदण्ड हो, चौंरी । चौंरीले दूध दिन्छ, उस्तै परे यसैको मासु पनि खान मिल्छ । तर यसभन्दा बढी यसले गोब्रयाउँछ जुन लुनानाका बासिन्दाको इन्धनको मुख्य स्रोत हो । सहरमा बिजुली बत्तीमा बस्‍न बानी परेको उगेन यही इन्धन खोज्दै चौंरीको पाइला पछ्याउँदै जान्छ र गिलो गोबर घिन मानी मानी टिपेर डोकोमा राख्छ । चौंरी गोठालाको विरही गीत गाइबस्‍ने साल्डोन जब उगेनलाई यसरी गिलो गोबर टिपिरहेको देख्छे, आगो बाल्नलाई गिलो हैन सुकेको गोबर चाहिने ज्ञान दिन्छे । तर यतिले पनि चित्त नबुझेर उसले नोर्बु (चौंरी) उगेनलाई गिफ्ट दिन्छे । नोर्बु छाडेर जाने बेलामा साल्डोन उगेनलाई भन्छे, ‘जति गोबर चाहिन्छ त्यति घाँस घुवाउनु ।’

एकदमै सामान्य संवाद । तर यही संवादले हिमाली राज्यमा बस्‍ने संसारभरका आदिवासीको ज्ञानको गहिराइ अभिव्यक्त गर्छ । यदि भोलिका दिनमा यो फिल्मले अस्कर पायो भने यो संवाद एउटा कारण मानिनेछ । कक्षा कोठामा चुपचाप घाँस खाइरहने नोर्बु र कखग पढ्ने विद्यार्थी एउटै फ्रेममा अटाएको दृश्य लुनानाको प्रकृतिझैं रोचक लाग्छ । अझ भुटानको वर्णमाला र नेपालको वर्णवाला ‘कखग’ एकै रहेकाले यही चिज पढाउँदा हामीलाई यो फिल्मप्रति थप अपनत्व महसुस हुन्छ ।
संसारभर नै फिल्ममेकिङ जटिल बन्दै गएको छ ।

अझ लकडाउनपछि दर्शकको धैर्य क्षणभरमै टुट्ने गरेको अध्ययन हुन थालेका छन् । त्यसैले फिल्मकर्मी सेकेन्ड सेकेन्डमै दर्शकलाई नयाँ–नयाँ कुरा दिने सोचमा चिन्ताग्रस्त छन् । तर यो फिल्म यस्ता चिन्ताभन्दा पर रहेर ढुक्कसँग बनेको छ । लुनानाका बासिन्दाझैं यो फिल्म धिमा गतिको छ । कथामा अब के होला भन्‍ने कौतूहल छैन तर पनि निर्देशक र छायाँकार जिग्मे तेन्जिङले लुनानाको भूगोल र मान्छेलाई यसरी प्रस्तुत गरेका छन् जहाँ तपाईंलाई फिल्म सक्न कुनै हतार महसुस हुँदैन । फिल्मको संसार एकादेशको दन्त्यकथा जस्तो छ जुन धिमा गतिमा सुरु हुन्छ तर त्यही गतिमा सकिन्छ । तर यो गतिमा यस्तो लय छ कि पर्दाबाट आँखा हट्दैनन् ।

अझ रामेशको चर्चित गीत ‘लेकका हामी केटाकेटी’ गाउँदै हुर्किएका र भुटानकोझैं भूगोल भोग्ने हामीलाई लुनानाले हाम्रै हिमाली जिल्लाको याद दिलाउँछन् । ‘चौंरीलाई चराउँदै दिन बित्छ’ गीतांशले भनेझैँ चौंरीसँग दिनचर्या साट्नेहरूलाई त फिल्मले आफ्नै कथा भनेको आभास भई नै हाल्छ । फिल्म निर्माणको सबैभन्दा छोटो इतिहास भएको भुटानले अस्करको यात्रा कसरी तय गर्यो ? अहिले हरेक दक्षिण एसियाली राष्ट्रका फिल्मकर्मीको चासोको प्रश्न हो ।

यसको सही उत्तर उही यो फिल्मलाई भोट गर्ने अस्करका ८ हजार अधिक भोटरसँग होला । नत्र भने अनुमानकै भर पर्नुपर्ने हुन्छ ।  तर अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म (पहिले विदेशी भाषाका फिल्म)को इतिहास हेर्दा भोटरले त्यस्ता फिल्मलाई मनोनयनमा राख्न रुचाएका छन् जसले आफ्नो देशको संस्कार संस्कृतिलाई गौरवका रूपमा प्रस्तुत गर्छन् ।

‘लुनाना अ याक इन दि क्लास’मा आफ्नो जराप्रतिको प्रेम त छ नै तर यो फिल्मको योभन्दा बढी शिक्षाको महत्व र शिक्षा प्रेमलाई लोभलाग्दो गरी प्रस्तुत गरेको छ । यो प्रेमलाई लेखकसमेत रहेका निर्देशक पाओ छोनिङले लुनानाकी क्लास क्याप्टेन पेमा जामको मुखबाट सुन्दर तरिकाले अभिव्यक्त गराएका छन् । कक्षाको पहिलो दिन नै पेमा भविष्यमा शिक्षक बन्ने घोषणा गर्दै भन्छे, ‘टिचर टचेज दि फ्युचर ।’ सायद यही कारण हुनसक्छ यो फिल्मले उत्कृष्ट ५ को यात्रा तय गर्यो । 

तर विषयवस्तु बलियो भएर मात्र कुनै फिल्म अस्करमा प्रवेश भने पाउँदैनन् । अस्कर छिर्ने अर्को दरिलो उपाय हो अमेरिकी वा युरोपियन वितरकले फिल्म किन्नु । लन्डनमा अघिल्लो साल नै थुप्रै अवार्ड जितेको यो फिल्मलाई अमेरिकामा सामुयल गोल्डविन फिल्मस्ले किनेको थियो र सम्भवतः फिल्मपछि अर्को बलियो कारण यो हो कि फिल्मले अस्करमा स्थान पायो । 

अन्त्यमा,

भुटानले अस्करमा पहिलो पल्ट पठाएको फिल्म थियो ‘दि कप’ । समय थियो सन् १९९९ । त्यसपछि लगभग २० वर्ष भुटानले अस्करमा फिल्म पठाएन । सन् २०१९ मा तयार भएको फिल्म सन् २०२० मा त्यहाँ प्रदर्शन भएर अस्करमा पठाइयो । तर अस्कर कमिटीको गठन र स्वीकृतिविना पठाएको फिल्म अस्करले लिन मानेन । गतसाल कमिटी बनाउने समयसीमा नै सकिइसकेको थियो ।

सन् २०२१ मा भने उही ‘दि कप’का निर्देशक खेन्त्यसे नोर्बुको कमिटी बन्यो र फेरि यही फिल्म सिफारिस गरियो । यो पटक फिल्म अस्करको प्रतिस्पर्धामा सदर मात्र भएन, सम्भावित विजेताको सूचीमा नै पर्न सफल भयो । कथंकदाचित यो फिल्मले अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्यो भने सबैभन्दा बढी लाज बलिउडलाई हुनेछ । किनकि भुटानले बलिउड शैलीका फिल्म बनाउन छाडेर आफ्नै बुद्ध दर्शनमा आधारित फिल्म बनाउन थालेको भर्खरै हो । नत्र भने दुई चारअघिसम्म पनि भुटानमा बलिउडका फिल्म मात्र चल्थे र भुटानी फिल्ममेकरले पनि सोही शैलीका फिल्म बनाउँथे । तर यो शैली छाडेसँगै भुटानी फिल्म अस्करमा दाबेदारी प्रस्तुत गर्न सफल भएको छ जुन जम्मा २५ वर्षे फिल्म निर्माणको इतिहास भएको फिल्मका लागि चानचुने उपलब्धि होइन । 

हिजोदेखि आजसम्म हामीले चिनेको–सुनेको भुटान शरणार्थी भुटान हो । र, अब के संकेत देखिँदै छ भने— फिल्मी भुटान । विश्वमञ्चमा राज गर्नलाई राजनीति बलियो हुनुपर्छ अनि कला–साहित्य पछिपछि लाग्छ भन्‍ने एउटा बलियो तर्क हो । र, यदाकदा यो तर्क कलाकर्मीले आफ्नो बर्कत छोप्ने बहाना पनि होला । लामो समय भुटानीलाई शरण दिएको–दिइरहेको नेपाल अब मनोरञ्जनमा भुटानको शरण नपर्ला पनि भन्‍न सकिन्न । र, यो पाठ नेपालका सिनेकर्म गरिरहेकाहरुका लागि मीठो दबाब हुन सक्छ । 

हुन त एच फर ह्याप्पीनेस इन्डेक्सलाई धेरैले एच फर हिप्पोक्रेसी इन्डेक्सको रुपमा पनि बुझ्ने गरेका छन् । कमसेकम नेपालीभाषी भुटानीलाई रातारात विविधता सहन नसकेर लखेटेबाट यही अर्थ निस्कन्छ । सिनेमाले शिक्षा प्रेमको कथा प्रस्तुत गरे पनि भुटानी शरणार्थीका दुर्दिन देखेका हाम्रो मनमा एउटा प्रश्न चाहिँ आउने नै रैछ, आखिर विविधता सहन नसक्ने शिक्षा के शिक्षा ? 

भुटानी शरणार्थी तेस्रो देश पुनर्बास हुने क्रममा अमेरिका पुग्ने र यही समयमा भुटानको भाषा बोल्ने सिनेमा अमेरिकाकै ठूलो फेस्टिभलमा पुग्ने संयोग कम रोचक छैन । यो फिल्म हेरेर पुनर्वासमा गएका भुटानी शरणार्थीलाई के लाग्दो हो ? जान्न पाए रमाइलो नै हुनेछ । कलामा शरणार्थी समस्यालाई सत्तासीन भाषाले तत्कालका लागि फड्को मारेको छ । तर यसले समानान्तार रुपमा जिज्ञासा पनि बढाएको छ, के अब अस्करलाई ‘स्लम’को भाषाभन्दा सत्ताको भाषा राम्रो लागेको हो ? पर्दामा ह्याप्पीनेस र पर्दा पछाडि हिप्पोक्रेसी, यो तोड्न अघि सर्नुपर्ने दायित्व फेरि पनि हाम्रै काँधमा आउँछ ।  


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x