कला

इन्डियन आइडल पवनदीप ठमेलको एलओडीमा आउँदै

इकागज |
पुस २२, २०७८ बिहीबार १९:४८ बजे

काठमाडौँ- चिसो काठमाडौँलाई तताउन इन्डीयन आइडल 'पवनदीप राजन' नेपाल आउने भएका छन् । उनले ठमेलस्थित 'एलओडी' क्लबमा आगामी माघ १ गते (शनिबार) प्रस्तुती दिने छन् । पवनदीपले क्लबका पारखीलाई गीत गाएर चिसिएको काठमाडौँलाई नचाएर तताउने भएका छन् । नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् ।

पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको क्लबका निर्देशक रविन श्रेष्‍ठले बताए ।


'अंग्रेजी नयाँ वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौ,' उनले भने,' कोभिडले थलिएको ठमेललाई सांगितिक माहोलले तताएर भए पनि उर्जा दिने छौ ।'

ठमेलमा बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले धानिरहेको उनले बताए । पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरुको भीड बढ्दै गइरहेको छ ।

कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको श्रेष्‍ठको भनाइ छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगितिक कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । 'कोभिडविरुद्धको खोप लगाएर आउन हुन सबैलाई अनुरोध गरिन्छ,' उनले थपे,' अहिले पनि क्लब भित्र प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।'

यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिक आफ्नो शो गरिसकेका छन् । त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन् ।

 

 


Author

थप समाचार
x