कला

के आकाशपछि सुदर्शनसँग पनि पूजाको सम्बन्ध बिग्रिएको हो ?

इकागज |
भदौ २७, २०७८ आइतवार १५:३२ बजे

काठमाडौं -  तारादेवीले धेरै अघि नै गाएकी छिन्, ‘भेटिनु छुटिनु त के हो र, संसारको रीत हो ।’ अनि यो गीत कतै दुरुस्त लागू हुन्छ भने त्यो ग्ल्यामरको दुनियाँ नै हो । यहाँ हिजोसम्म एक अर्काका कट्टर दुश्मन छिनमै बेस्ट फ्रेन्ड भइदिन्छन् अनि बेस्ट फ्रेन्ड दुश्मन ।  ताजा उदाहरण हुन् पूजा शर्मा र सुदर्शन थापा । 

सुदर्शन र पूजाले मिलेर फिल्ममा काम गरे । पूजाले अभिनय गरिन् सुदर्शनले निर्देशन गरे । पूजाले फिल्म निर्माण गरिन्, सुदर्शनले त्यो फिल्मको निर्देशन गरे । ८ वर्षअघि ‘मधुमास’बाट सुरु भएको दुवैको मित्रताले भर्खरै बिट मारेको छ ।


सुदर्शन थापाले केही दिनअघि सुप्रिया कटवालसँग टीकाटालो गरे । टीकाटालोमा भर्खरै चिनजान भएका राज कटुवाल र वर्षा सिवाकोटी यो टीकाटालाको साक्षी बस्न पाउने भाग्यमानी थिए । तर, वर्षौंदेखि दुःख सुख साटेकी पूजा शर्मा यो समारोहमा थिइनन् ।  इकागजले यो विषयमा प्रश्न गर्दा पूजा शर्माले सुटिङको बहाना बनाएकी थिइन् । तर पछि बुझ्दै जाँदा थाहा भयो त्यो दिन सुटिङ नै थिएन । यति मात्र होइन सुदर्शनले पूजालाई टीकाटालामा निम्तै गरेका रहेनछन् । 

यतिले मात्र पनि सुदर्शन र पूजाको सम्बन्ध सकिएको अनुमान गरिहाल्न हतार हुन्थ्यो तर जब सुदर्शन हुनेवाली दुलही सुप्रियालाई लिएर सञ्चारकर्मी प्रकाश सुवेदीले चलाउने कार्यक्रम ‘ग्ल्यामर गफ’मा अतिथि बन्न गए, दुवैको सम्बन्धले बिट मारेको स्पष्ट संकेत गथ्र्यो । यस्तो किन भनियो, यो बुझाउन थोरै विगतमा जानुपर्ने हुन्छ ।

सुदर्शन थापा तिनै व्यक्ति थिए जसले एक समय प्रकाश सुवेदीको कार्यक्रम बन्द गराउने मोर्चाको नेतृत्व गरेका थिए । प्रकाश सुवेदीले उनले चलाउने कार्यक्रम ‘रजतपट’मा पूजाको शारीरिक बनोटलाई लिएर टिप्पणी गरेपछि पूजा आगो भएकी थिइन् ।

उनले कलाकार संघदेखि एपिवान टेलिभिजनसम्मलाई पनि प्रकाश सुवेदीको कार्यक्रम बन्द गराउन जोड गरेकी थिइन् । यसो गरिरहँदा पूजाको हिम्मत थिए सुदर्शन थापा । कतिसम्म भने चाैतर्फी दबाबपछि प्रकाश सुवेदीले माफी मागे । सुदर्शनले यस्ताे पनि माफी हुन्छ भनेर असन्तुष्टि जनाएका थिए ।  तर, यो घटना घटेको ६ महिना नपुग्दै सुदर्शन उही प्रकाश सुवेदीसँग प्रेम र विवाहका किस्सा सुनाउन कार्यक्रममा सहर्ष उपस्थित थिए । सुदर्शन यसरी कार्यक्रममा जानमा अरु पनि कारण होलान् तर पूजालाई चिढ्याउने अभिप्राय यसमा थिएन भनेर पत्याउन गाह्रो पर्छ । स्रोतका अनुसार सुदर्शनकी हुनेवाला दुलही सुप्रिया र पूजा शर्माबीच बिल्कुलै राम्रो सम्बन्ध पनि छैन । 

केही समयअघि पूजा शर्मा र आकाश श्रेष्ठको प्रेम सम्बन्ध पनि सकिएको थियो । मुखले नभने पनि व्यवहारमा देखिने उनीहरूको प्रेम रुवाबासी गर्दै सकिएको थियो । अहिले विकसित घटना क्रमले पूजाको सुदर्शनसँग पनि सम्बन्ध सकिएको देखाउँछन् । 


Author

थप समाचार
x