कला

‘स्वर्ग जाने बाटो’ मञ्चनसँगै सुरु भयो बहुभाषिक नाटक उत्सव

इकागज |
असार १३, २०७९ सोमबार ९:५५ बजे

काठमाडौं-  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ । उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सवको संयुक्त उद्घाटन गरे ।

दुई वर्ष अघि नै आयोजना हुने भनिएको यो नाटक उत्सव कोरोना महामारीका कारण बल्ल आफूहरूले आयोजना गर्न सकेको उत्सव संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताइन् । आइतबारबाट सुरु भएको यो उत्सव सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सव संयोजक शर्माले कार्यक्रममा जानकारी गराइन् ।
उत्सवको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सवले भाषा भाषिकाका नाटकहरूलाई पनि मुलधारमा ल्याउन मद्धत पु¥याउने बताए ।
उत्सवको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो । यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए । सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए । 


यो नाटकका मुख्य पात्रले आफू सपनामा स्वर्ग गएको रमाइलो कथा सुनाउँछन् । उनको कुरा सुनेपछि गाउँलेहरू मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन । उनीहरूले आफ्नो पूजा विधि सम्पन्न गरेर बाटो पनि खन्छन् । तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भताभुङ हुन्छ । इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो । 

आइतबारबाट सुरु भएको यो उत्सब १८ असारसम्म जारी रहने छ । महोत्सवमा सोमबार थारु भाषाको ‘कनन हरलता’ नाटक मञ्चन गरिने भएको छ । यस्तै मंगलबार बाम्बुले भाषाको नाटक ‘सुम्निमा’, बुधबार चाम्लिङ भाषाको नाटक ‘सेमुना’, बिहीबार पुमा भाषाको नाटक ‘होङछा’, शुक्रबार लिम्बू भाषाको नाटक ‘सुविउ चरी’ र शनिबार खस भाषाको नाटक ‘कुटिरो’ मञ्चन हुने भएको छ । आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सव गर्नुको उद्देश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफुहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन थियो ।
 


Author

थप समाचार
x