कृषि

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

इकागज |
माघ १४, २०७८ शुक्रबार ९:३७ बजे

फाइल फोटो

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ ।

 प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो । 


गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवलगायतले कालीगण्डकी नदीमा बिहीबार माछाका भुरा छाडेका हुन् । 

मधेश प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका माछाका भुरा कालीगण्डकी नदीमा पुगेर छाडिएको वरिष्ठ मत्स्य विकास अधिकृत यादवले बताए । 

कार्यालयले यसअघि मकवानपुरको सामरी नदीमा पनि ३४ हजार तथा नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिसकेको यादवले बताए । 

त्यस्तै प्रदेश नं १ को कोसी नदीमा पनि ४० हजार माछाको भुरा छाड्ने योजना रहेको यादवले बताए । 

`खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढ्दै गएको छ`, कार्यालय प्रमुख यादवले भने, `यी जलचरको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि कार्यालयले प्राकृतिक नदीमा लगेर माछाका भुरा छाड्दै आएको छ ।` 

माछाका भुरा नदीमा छाडेसँगै कार्यालयले गैँडाकोट–३ स्थित ढोँडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको कार्यक्षेत्र सम्पूर्ण नेपाल रहेको भन्दै यादवले नदीनालाको अध्ययन गरी कुन माछा सङ्कटमा छ त्यसका आधारमा माछालाई प्रवद्र्धन गर्न माछा भुरा छाँडिदै आएको बताए । 

 नेपालमा स्थानीय प्रजातिका २१७ प्रकारका माछा रहेको जनाउँदै यादवले नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए । 

नेपालको प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको उनकोे भनाइ छ । रासस


Author

थप समाचार
x