कृषि

गाउँमै कृषि व्यवसायमा रमाउँदा ...

इकागज |
जेठ २३, २०८० मगलवार १२:३८ बजे

फाइल तस्बिर

भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन् । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन् ।    
    
करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाएका छन् । हालसम्म व्यावसायिक गाईपालनका लागि रु १५ लाख बढी लगानी गरिसकेको उनको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उहाँले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आएका छन् । दाँवाली कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषिमा लागेका उनी  समाजको एक उदाहरणीय पात्रसमेत हुन् । विगतमा आफ्नो फार्ममा उत्पादन भएको दूध बजारका दुग्ध उद्योगमा बेच्दै आएका उनले अहिले आफैँ उद्योग सञ्चालन गरेर स्वरोजगारसमेत बनेका छन् । विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने कृषक विष्टको भनाइ छ ।    
    
 “सानैबाट कहिले पनि विदेशप्रतिको मोह आएन”, उनले भने, “आफैँ उद्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत पाँच वर्षबाट कृषिमा लागेको हुँ । सुरुआती चरणमा धेरै दुःख पाएँ । उत्पादन भएको दूधले उचित मूल्य नपाउँदा धेरै समस्या थियो । तर अहिले आफैँले दुग्ध डेरी सञ्चालन गरेको छु । यहीँ मेहनत गरे आम्दानी गर्न सकिन्छ ।”    
    
उनी  उठेदेखि साँझसम्मको समय कृषिमा लगाउँछन् । गाउँघरका किसानलाईसमेत पशुपालनमा लाग्नका लागि प्रोत्साहन थप्दै आएका छन्। कृषक विष्टले घरसम्म पुगेर दूध खरिद गर्न थालेपछि पशुपालनमा लाग्न हौसला मिलेको स्थानीय पशुपालक किसानले बताउने गरेका छन् । सानै उमेरमा व्यवसायमा लागेका विष्ट बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्छन् । हिउँदको समयमा दूध सङ्कलनमा सहज रहे पनि वर्षात्मा कच्ची बाटो हिलाम्य बन्दा समस्या हुने गरेको उनको भनाइ छ ।    
    
कृषक विष्टले आफ्नो फार्मबाट उत्पादन भएको दूधसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर किसानको घरबाट सङ्कलन गरेर दूध ल्याउने गरेका छन् । उनले अहिले भोजपुर बजारमा दुर्गा दुग्ध डेरी उद्योग सञ्चालन गरेर बजारको दूधको मागलाई धान्दै आएका छन्।    
    
 “व्यवसाय सञ्चालनका क्रममा धेरै समस्या झेलेँ”, कृषक विष्टले भने, “जो मानिस समस्याको सामना गर्नसक्छ त्यो सफल बन्ने रहेछ । मैले धेरै सङ्घर्ष गरेको छु । आफ्नो फार्ममा उत्पादन भएको दूधले बजारको माग पूरा गर्न कठिन भएपछि किसानको घरमा पुगेर दूध सङ्कलन गर्छु । ती किसानलाई पनि केही राहत पुगेको छ । मेहनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या छैन ।”    
    
 सिजनमा आफ्नो फार्मबाट दैनिक ६० देखि ८० लिटर र अन्य किसानबाट सङ्कलन भएको गरी दैनिक एक सय ८० देखि दुई सय लिटरसम्म दूध बिक्री गरिरहेको उनको भनाइ छ । दुग्धजन्य परिकार बनाउने उपकरण नहुँदा समस्या रहेको किसान विष्टले बताए । दूधलाई चिस्याउनका लागि आवश्यक पर्ने उपकरण नहुँदा गर्मीको समयमा बढीमात्रामा दूध फाट्ने सम्भावना हुने उनको भनाइ छ ।    
    
राज्यकोतर्फबाट दुग्धजन्य परिकार बनाउने उपकरणमा सहयोग पाए सहज हुने उनले बताए । “बढीमात्रामा दूध सङ्कलन गरेर भण्डारण गर्न समस्या छ”, उनले भने, “त्यस्ता खालका उपकरण खरिदमा निकै ठूलो लगानी लाग्ने रहेछ । यस्ता कुरामा राज्यले सहयोग गरे धेरै किसानलाई सहज हुने थियो ।”    
    
व्यवसायी विष्टले दाँवा, तल्लो बोखिम, माथिल्लो बोखिम, टक्सार, धापखर्क, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारीभञ्ज्याङलगायत ठाउँका एक सय ५० बढी कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । विगतमा घरयासी प्रयोजनमा मात्र खपत गर्दै आएको दूध बिक्री गर्न पाउँदा खुसी लागेको माथिल्लो बोखिमका कृषक भोजराज घिमिरेले बताए। आफ्नै ठाउँमा दूध बिक्री भएपछि सहज भएको उनको भनाइ छ ।    
    
“हामीलाई दूधको बजारीकरणमा सहजता थपिएको छ”, कृषक घिमिरेले भने, “बजार टाढा भएकाले विगतमा धेरै किसानले दूध बिक्री गर्दैन थिए । उनीहरुले घरयासी प्रयोग मात्र गर्दै आएका थिए । गाउँमा नै दूध सङ्कलन केन्द्र हुँदा सहज छ । अहिले दूध बिक्रीबाट आएको पैसाले घर खर्च टार्न सकेका छौँ ।”    
    
कृषक विष्टले आंशिकरुपमा अन्य मानिसलाई रोजगारीसमेत दिएका छन् । दुग्ध व्यवसायसँगै उनले नौ वटा टनेलमा व्यावसायिकरुपमा तरकारी खेतीसमेत गर्दै आएका छन् भने व्यावसायिकरुपमा १५ रोपनी बढी क्षेत्रमा सुन्तलाखेती पनि गरेका छ्न् । कृषि व्यवसायबाट भविष्यमा वार्षिकरुपमा रु १५ देखि २० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको किसान विष्टको भनाइ छ । आफूले आर्गानिक तरकारी उत्पादनमा जोड दिएको उनले बताए ।    
    
“कृषि व्यवसाय गरेर सफल बन्दैन भन्ने धेरै थिए”, उनले भने, “इलामबाट गाई किनेर ल्याएर व्यवसाय थाल्दा यो डुब्यो भन्ने पनि थिए । अहिले मैले यहाँ उत्पादन भएको मलको सदुपयोग गर्दै आर्गानिक तरकारी खेतीमा जोड दिएको छु । यस वर्ष मात्र नौ वटा टनेल विस्तार गरेको छु । त्योसँगै १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छु ।”    
    
कृषिमा योजनाबद्धरुपमा लागेको देखेर राज्यले तरकारी खेतीका लागि केही सहयोग गरेको कृषक विष्टको भनाइ छ । राज्यको सहयोगले व्यवसायमा लाग्न हौसला मिलेको उनले बताए। “सुरुमा राज्यकोतर्फबाट खास सहयोग भएन”, उनले भने, “आफैँले ऋणपान गरेर आवश्यकता पूरा गर्दै गएँ । अहिले तरकारी खेतीका लागि केही सहयोग पाएको छु । कृषि ज्ञान केन्द्रको सहयोगमा टनेल विस्तार गरेको छु ।”    
    
आफ्नै ठाउँमा मेहनत गर्नसके विदेशमा हुने कमाइ यही गर्न सकिने उनको भनाइ छ । आफूले कृषि क्षेत्रमा पाएको सफलता देखेर धेरै युवाले यसप्रति रुचि देखाएको उनको भनाइ छ । उनीहरुलाई आफूले सिकेको सीप सिकाउँदै कृषि पेसामा लाग्न प्रोत्साहन गर्दै आएको उनले बताए ।    
    
 “स्वदेशमा कृषिमा सम्भावना देखेर कृषिमा लागेको हुँ”, उनले भने, “पशुपालनबाट निस्किएको मलको प्रयोग गरेर बेमौसमी तयार खेतीको अवधारणाअनुसार काम गरिरहेको छु । मैले आर्गानिक कृषि उत्पादनमा जोड दिएको छु । यो लाग्न रुचि देखाउने युवा साथीलाई आवश्यक सहयोग गर्दै आएको छु ।” रासस



Author

थप समाचार
x