कृषि

पोखरा महानगर माहुरीका घार वितरण गर्दै

इकागज |
जेठ १६, २०८० मंगलबार १५:२६ बजे

फाइल तस्बिर

गण्डकी- कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो । 

पोखरा–१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रूपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा माहुरीका घार वितरण गर्न लागिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कृषकलाई करिब रु एक करोड बराबरको माहुरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उनले बताए ।​


यसैबीच पोखरा–२० को कार्यालयले ६४ किसानलाई माहुरीको घार वितरण गरेको छ । पोखरा–२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गङ्गाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रूपमा किसानलाई माहुरीको घार वितरण गरेका हुन् ।

वडाध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने विश्वास व्यक्त गरे ।

कृषि महाशाखा प्रमुख कडरियाले दुई–चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरिद नगर्न अनुरोध गर्दै त्यसरी खरिद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने बताए । पोखराको हावापानी सुहाउँदो माहुरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित माहुरी घार वितरणमा जोड दिएको छ ।


Author

थप समाचार
x