कृषि

यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल

इकागज |
चैत १६, २०७९ बिहीबार २०:५७ बजे

फाइल तस्बिर

उदयपुर- उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुसी भएका छन् ।

त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाको हडिया, जोगीदह, बसाहा क्षेत्रमा अहिले आँप र लिचीका बोटमा फूल राम्रैसँग फुलेपछि कृषक राम्रै उत्पादन हुनेमा आशावादी भएका छन् ।  


त्यसैगरी बेलका नगरपालिका क्षेत्रको पुरनदह, तपेस्वरी, भागलपुरसहितका सिवाइ सुन्दरपुर क्षेत्रमा अहिले आँपका बोटमा स–साना फल लाग्न थालेको छ । त्रियुया नगरपालिका–२ खैजनपुरका कृषक देवकृष्ण राजधामी भन्छन्, 'विगतमा भन्दा यसपटक आँप र लिचीका बोट धेरै फुलेर फल लागेका छन्, हावाहुरीले बिगारेन भने आँप र लिचीको उत्पादन धेरै हुन्छ ।'

चौदण्डीगढी नगरपालिका–५ सिवाइ सुन्दरपुरका कृषक देवनारायण चौधरीले पाँच वर्षमा अहिले आँप र लिचीको राम्रो फूल फुलेको बताए । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार सात सय ७० हेक्टर क्षेत्रफलमा आँपखेती र एक सय ५० हेक्टर क्षेत्रफलमा लिचीखेती गरिएको छ । वर्षाले क्षति नगरे यस वर्ष आँप र लिचीको राम्रो उत्पादन हुनेमा आशावादी भएको ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउँछन् ।


Author

थप समाचार
x