कृषि

उत्पादन छ बजार छैन

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १५:२२ बजे

सांकेतिक तस्बिर

मङ्गलबारे- व्यावसायिक बङ्गुर पालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ बाट व्यावसायिक बङ्गुर पालन गर्दै आएका महतको फार्ममा उन्नत जातका बङ्गुर छन् । 

विशेष गरी कुखुरा र कुखुराका दाना तथा भेटनरी सञ्चालन गर्दै आएका उनी बङ्गुर पालनमा पनि लागेका हुन् । फार्ममा बङ्गुरको सङ्ख्या वृद्धि भइरहेको छ । पछिल्लो समय महत जस्तै पशु तथा कृषि पेसामा युवाको आकर्षण बढ्न थालेको छ । केही बाख्रा पालन त केही च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादनमा लागेको पाइन्छ । 


महतको फार्ममा बङ्गुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरका नामबाट फार्म दर्ता गरेर व्यावसायिक बङ्गुर पालन थालिएको महतले बताए । 

आधुनिक तरिकाबाट गरिएको बङ्गुर पालनबाट उनको फार्ममा सङ्ख्या वृद्धि भएर तीन सय बढी पुगेको हो । बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फार्मका कामदार कृष्ण बराइलीले बताए । माउबाट छुटाइसकेपछि पाठापाठी बेच्न सकिने बताइएको छ । 

छिटो वृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर व्यावसायिक बङ्गुर पालन थालिएको हो । हाल रेन्ड्स, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बङ्गुर फार्ममा रहेको बताइएको छ । हाल सो फार्ममा पाठापाठीदेखि दुई सय किलोभन्दा बढीका बङ्गुर छन् । 

उत्पादन बढे पनि उनको फार्मबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाइ छ । यहाँ उत्पादन भएका बङ्गुर स्थानीय बजारमा बिक्रीवितरण भइरहेको छैन । हेर्दा उस्तै देखिए पनि सुँगुर र बङ्गुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानीय बजारमा यसको खपत नभएको बताइएको छ ।

स्थानीय बजारमा बिक्री नभएको र बाहिरसमेत बङ्गुर बिक्री भएर नगएपछि समस्या भएको महतको भनाइ छ । सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बिक्रीवितरणमा चासो नदिएको उनको भनाइ छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषिउपज बिक्रीवितरणमा सरकारले सहजीकरण गरिदिनुपर्ने उनको माग छ । 

कोरोना कालको लकडाउन र कामको विकल्प खोज्ने युवाको रोजाइमा परेको कृषि पेसाप्रति उत्तिकै वितृष्णा जाग्न थालेको युवाको भनाइ छ । उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसान चिन्तितसमेत भएका छन् । अनुदानसँगै उत्पादित वस्तुको बजारीकरणमा समेत स्थानीय सरकार लाग्नुपर्ने किसानको भनाइ छ ।

बाख्रा पालन व्यवसायमा लाग्नेकाको समेत अवस्था उस्तै छ । निकै खर्च गरेर खोर निर्माण गरी बाख्रा पालनमा लाग्नेको दुखेसो उस्तै छ । सुरुमा महँगो मूल्यमा पाठापाठी तथा माउ खरिद गरेको भए पनि हाल गाउँमा नै बाख्रा नबिक्ने गरेको किसानको भनाइ छ । 


Author

थप समाचार
x