कृषि

नेपालमा कहिलेदेखि सुरु भएको थियो चियाखेती ?

इकागज |
मंसिर २०, २०७९ मंगलबार १९:२२ बजे

काठमाण्डाैं । नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चियाखेती हुन थालेको डेढ शताब्दी भइसकेको छ । विसं १९२० मा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ ।    
    
त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ हुन्। उच्च ओहदाका चिनियाँ व्यक्तिबाट उपहार प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेशमा इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि सो चिया रोपिएको बताइएको छ । नेपालमा सोपश्चात् चियाखेतीको औपचारिक सुरुआत भएको मानिन्छ ।    
    
थापाले विसं १९२० मा इलाम चिया कमानमा प्राप्त बिरुवा रोपेको बताइन्छ । त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो । नजिकै रहेको दार्जिलिङमा पनि सोही समयमा चिया रोप्न थालिएको थियो । भारतको दार्जिलिङ र नेपालमा सो बेलाको प्रविधि साटासाट गर्दै धमाधम चिया लगाउन थालियो । भारतमा चियाखेती फस्टाइरहँदा नेपालमा भने जहानियाँ राणाशासनका अगाडि चिया खेती फस्टाउन नपाएको जानकार बताउँछन् तर त्यही समयमा भारतको दार्जिलिङमा चिया खेती व्यापक हुँदै गएको बताइन्छ । पछि दार्जिलिङको चिया ब्राण्ड नै स्थापित गर्दै अघि बढ्यो तर नेपालमा भने निकै पछि अर्थात् केही वर्षअघि मात्र निर्यातका लागि लोगो प्राप्त भयो ।
    
विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको बताइन्छ ।    

चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । विश्व बजारमा चार करोड किलोग्रामभन्दा बढी चियाको माग छ । करिब ९० लाख किलोग्राम चिया दार्जिलिङले उत्पादन र माग पूरा गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलोग्राम मात्रै उत्पादन हुने गरेको आँकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भए पनि नेपालले चियाखेतीबाट खासै लाभ लिन सकेको छैन ।    
    
तत्कालीन राजा वीरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरेका थिए। हाल नेपालको पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत केही मात्रामा चिया लगाइएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ । त्यसक्षेत्रमा सञ्चालित टि स्टेट तथा प्रशोधन केन्द्रले चिया उद्योगले करिब ५८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।    
    
गत आर्थिक वर्षमा रु दुई अर्ब ६८ लाख बराबरको ११ हजार एक सय ४२ मेट्रिक टन चिया निर्यात भएको थियो । यहाँको अग्र्यानिक चिया विश्व बजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसानको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा कसैले चासो नराखेको यहाँका किसान तथा उद्योगीको भनाइ छ ।



Author

थप समाचार
x