कृषि

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

इकागज |
मंसिर १७, २०७९ शनिबार २०:५१ बजे

फाइल फोटो

पर्वत - पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन् । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा ।

मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ ।


`लगभग रु पाँच लाखभन्दा बढीको लगानी भइसकेको छ । अब अलैँची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हुन लागेको थियो । तर दुई वर्षअगाडि बिरुवाका पात सुक्दै जाने समस्या देखियो । त्यसले अहिलेसम्म पनि छाडेको छैन,` समूहकी कोषाध्यक्ष वीरमाया पुनले भनिन्, `रोपेको तीन वर्षमा राम्रो उत्पादन दिने भनेको हो । अहिले पाँच वर्षसम्म पनि उत्पादन लिन पाइएको छैन । पारिपट्टिको क्याङ गाउँमा पनि यस्तै भएको छ भन्छन् । पहिले २५ क्विन्टल फलेकामा अहिले १५ क्विन्टल जति होला भनेका छन् ।`

समूहकी अध्यक्ष डममाया पुनका अनुसार बिरुवामा सुरुमा पात सुक्ने र पछि लाँक्रा नै मर्ने समस्या देखिएको थियो । समस्या समाधानको प्रयास नभएको पनि होइन । तर हरेक विधिले उपचार गर्दा पनि समस्याको समाधान नभएको पुनले बताइन् । `हामीले लगभग एक हेक्टर क्षेत्रफलमा अलैँची रोपेका छौँ । सुरुमा बिरुवाहरू राम्रो भएर हुर्किंदै आए तर पछि पात सुक्दै जाने र अन्तिममा लाँक्रा नै मर्ने समस्या देखियो,` उनी भन्छिन्, `समस्या समाधानका लागि कृषि ज्ञान केन्द्रबाट टोली आएर सबै हेरेका हुन् । सरसफाइ र केही औषधिले केही कम भएको भए पनि बिरुवा सुक्ने क्रम रोकिएको छ ।`

समस्या देखिएको भनेर गुनासो आएपछि कार्यालयबाट पुगेको प्राविधिक टोलीले कृषकसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेपछि केही काम भएको तर रोग नियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन् । परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको सङ्क्रमण रहेको देखिएपछि विषादी छर्केर केही कम भए पनि फेरि पनि समस्या उस्तै रहेको उनको भनाइ छ ।
    
`मोदी गाउँपालिकामार्फत केही नमुना परीक्षणका लागि काठमाडौँ पठाएको हो । ढुसी देखिएर विषादी छर्के पनि रोग नियन्त्रणमा आएन । अब फेरि पनि केही नमुना काठमाडौँ पठाउन लागेका छौँ,` थापाले भनिन्, `यदि भाइरस भएर यति धेरै फैलिएको हुनुपर्छ । त्यस्तो हो भने बगैँचा नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ । हामीले अलैँची ब्लक कार्यक्रममार्फत अलैँची विज्ञलाई नै ल्याउने प्रयास गर्न लागेका छौँ ।`

परीक्षणका लागि काठमाडौँ पठाइने रिपोर्ट र विज्ञको सल्लाहअनुसार नै थप प्रयास गर्ने कार्यालयको तयारी छ । तत्कालका लागि जिल्लामा उपलब्ध प्राविधिकलाई पठाएर विषादी प्रयोगको तरिकाका बारेमा सिकाउँदै सरसफाइ नियमित गरिएको विषादी निःशुल्क उपलब्ध गराइएको कार्यालय प्रमुख थापा बताउँछिन् । रासस
 


Author

थप समाचार
x