कृषि

रासायनिक मल नपाएपछि किसान आन्दोलित

इकागज |
मंसिर १५, २०७९ बिहिवार २०:४० बजे

मकवानपुर- मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरू आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाका किसान आन्दोलनमा उत्रिएका हुन् ।

थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले आज मलको सहज आपूर्ति गर्न बिहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल कृषि प्रधान देश भए पनि विगत केही वर्षदेखि मलको अभाव हुने गरेको छ । आधुनिक कृषि प्रणाली र व्यवसायी रूपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मूल्य निर्धारण गरिएका युरिया, डिएपि जस्ता मलहरू तेब्बर मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको आरोप लगाउँदै ध्यानाकर्षण पत्रमा भनिएको छ, 'मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुका लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रति किसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि पर्याप्त होइन ।'

मल आएपछि त्यसको बाँडफाँट आवश्यकता र औचित्यका आधारमा गर्नुपर्ने उनीहरूको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै थाहा नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताइएको छ ।

यता, कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाको गोदाममा रासायनिक मल थुप्रिएर बसेको र किसानले नपाएको गुनासो बढेपछि निर्वाचनमा विजयी भएको प्रमाणपत्र लिने बित्तिकै मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेशकुमार बर्तौला कम्पनीको हेटौंडाको गोदाम नै निरीक्षण गरेर यो मल तत्काल वितरण गर्नका लागि निर्देशन दिएका थिए । स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरूका कारण समयमा नै मल वितरण गर्न थप समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाका प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष जानकारी गराएका थिए ।

मकवानपुर जिल्लाका दश वटा स्थानीय तहमा वितरणका लागि ल्याइएको मल वितरणको विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिलेसम्म हेटौंडा उपमहानगरपालिकाभन्दा बाहेकका क्षेत्रका स्थानीय तहले समयमा नै समन्वय नगर्दा मल वितरणमा समस्या भएको ज्ञवाली बताउँछन् । आवश्यक मल अभावका कारण खेतबारीमा किसानले बढी मूल्य तिरेर मल खरिद गर्नुपर्ने अर्को बाध्यता पनि रहेको छ । तर, मलको समस्या तत्काल समाधान गरी किसानले सहज रूपमा मल पाउने वातावरण बनाउन बर्तौलाले निर्देशन समेत दिए थिए ।

गोदाम भरी रासायनिक मल भए पनि किसानले नपाउँदा व्यापारीहरूले मनोमानी मूल्यमा बिक्री गर्दै कालोबजारी गरिरहेको किसानहरूले आरोपसमेत लगाएका छन् । मुलुकभर सरकारी अनुदानको मल कृषि सामग्री र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आइरहेका छन् । कोटाका आधारमा कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्छन् । जसका लागि दुवै कम्पनीले ग्लोबल टेन्डर आह्वान गर्छन् ।

यसपटक कृषि सामग्रीले समयमै मल आयात गरेको दाबी गरे पनि सिजनकै बेला किसानले भने मल पाइरहेका छैनन् ।


Author

थप समाचार
x