कृषि

बाख्रा पालनबाट मिलेको खुसी

धनबहादुर गुरुङ |
असोज १६, २०७९ आइतबार १६:३२ बजे

पोखरा - पोखरा २० मौजाका दुर्गाबहादुर गुरुङले बाख्रा पालन गर्न थालेको २० वर्ष भयो । बाख्रा पालन व्यावसायबाट उनी निकै खुसी छन् । 

खसी, बोका, बाख्रा र पाठापाठी बिक्रीबाटै उनले वार्षिक १५ लाखको कारोबार गर्छन् । उनको मौजा हिल लाईभस्टक नामको फर्ममा २ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा ४ जना कामदारले काम गर्छन् । 


उनले २०५९ सालमा २५ लिएर व्यावसाय सुरु गरेका हुन् । खोर व्यावस्थापनलगायत कामका लागि एक लाख ५० लाख ऋण लिएर व्यावसाय सुरु गरेको उनी सम्झन्छन् । 

‘सुरुमा विदेश जान्छु भनेर कस्सिएको थिए, पछि सबैले नेपालमै केही गर्न सकिन्छ भनेर बाख्रा पालनमा लागेको हुँ,’ उनले भने, ‘सुरुमा केही गाह्रो थियो ऋण खोजेर २५ वटा बाख्रा खरिद गरेर लाग्ला डुबिन्छ की भन्ने डर लागेको थियो ।’ बिस्तारै राम्रो हुँदै गएपछि उनलाई पहिलेको जस्तो चिन्ता छैन् । यो व्यवसायबाट वर्षमा १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालसँगै उनी खुसी छन् । उनले एक वर्षमा एक सयको हाराहारीमा बाख्रा बिक्री गर्छन् । 

जहान परिवार धान्ने, बालबच्चा पढाउने जिम्मेवारी पनि यसैले पुरा गरेको उनले सुनाए  । एक छोरा एक छोरी पढाउने मात्रै हैन, फर्ममा काम गर्ने कामदारको बच्चा पनि पढाउन पुगेको उनले सुनाए । बाख्रा बिक्रीबाट भएको आम्दानीले उनको सबै खर्च टरेको छ । सबै खर्च कटाएर बचत समेत गरेको उनले बताए । उनको खोरमा पाठापाठीसहित अहिले एक ३५ वटा बाख्रा छन्। 

अघिपछि भन्दा बजारमा दसैंमा बाख्राको माग बढि हुने भएकाले माग धान्न गाह्रो परेको उनको भनाई थियो । ‘दशैंमा सबैमा मासु खाउँ भन्ने हुन्छ त्यसैले अरु समयमा भन्दा चाडपर्वमा माग बढि नै हुन्छ,’ उनले भने । कास्कीमा पालिएको खसी, बोका र बाख्राले जिल्लाको माग धान्न गाह्रो भएपछि अन्य जिल्ला र छिमेकी देश भारतबाट पोखरामा खसी बोका भित्रने गरेको उनले सुनाए । 

लामो समय बाख्रा व्यवसायमा लागेकाले उनी नेपाल बाख्रा व्यावसायी महासंघ कास्कीको अध्यक्ष भएर काम गरिरहेका छन् । उनले पछिल्ला समय आफ्नोसँगै अन्य बाख्रा पालक कृषकहरुको समस्यामा साथ दिईरहेका छन् । ‘त्यो बेला विदेश गएको भए कहाँ के गर्दै भइन्थ्यो अहिले यही रमाएको छु,’ उनले भने, ‘अहिले मेरो मात्र होइन अरु कृषकहरुको समस्यामा पनि साथ दिने गर्छु मैले मेरो मात्र होईन कास्कीका सबै बाख्रा व्यावसायीहरुको राम्रो हवस् भनेर काम गर्ने गरेको छु ।’
 
व्याक्तिगत लगानीबाट व्यावसाय सुरु गरेका गुरुङले सरकारले चाहेको जती सहयोग नगरेको उनको गुनासो छ । सरकारी पक्षबाट सहयोग नै नभएको भने होइन् । तर, केही गर्नैपर्ने सहयोग नभएको उनको भनाई थियो । उनले अहिलेसम्म सरकारबाट दुई लाख ५० हजार अनुदान पाएको सुनाए । यसबाहेक भेटेरीनरी अस्पताल तथा बृडिङ केन्द्र, पशु सेवा शाखा, राष्ट्रिय पशु प्रजनन केन्द्रलगायत संघसंस्थाले खोर सुधार लगायत सहयोग गरेको उनले बताए । यसबाहेक गत साउनमा पोखरा महानगरले उनलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणा गरी सम्मान पनि गरेको थियो । 

सरकारी पक्षबाट बास्तविक कृषकलाई अनुदान दिन चुकेको उनको भनाइ थियो । ‘सरकारले वास्तविक कृषक बाहेक केही महिना कृषि गरेको भरमा अनुदान उपलब्ध गराउँछ यसले गर्दा बास्तविक कृषक मर्कामा परेका छन्,’ उनले भने, ‘सरकारले गहिरो गरी अध्ययन गरेर सहयोग दिनुपर्छ । बल्ल हामी जस्ता कृषकहरुलाई हौसला बढ्छ ।’ यसबाहेक व्यावसायीक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने, कर प्रणाली एउटै बनाएमा सहज हुने उनले बताए । साथै, बिचौलिया प्रवृति हटाउन सके अझै राम्रो हुने उनको भनाइ छ । 
 


Author

थप समाचार
x