कृषि

जसले बाख्रा पालनमा नौ करोड लगानी गरे

इकागज |
असोज १५, २०७९ शनिबार १२:३६ बजे

मकवानपुर - संकल्प गरियो भने, सपना साकार हुन समय लाग्दैन । यसको गतिलो उदाहरण बनेका छन् दोलखाका राजु अधिकारी । जीवनको ऊर्जाशील समयमध्ये उनले ९ वर्ष मलेशिया र कतारमा कठिन श्रम गरे । वैदेशिक रोजगारको क्रममा गरिएको दु:ख अस्थायी हुने बुझेपछि उनी व्यवसायिक खेती गर्ने सोचमा लागे । विदेशबाट फर्किएपछि नेपाली भूमिमै केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो । व्यवसाय सञ्चालनको क्रममा उचित स्थान खोज्दै उनी हेटौंडा आइपुगे । अनि सुरु गरे सामूहिक रूपमा बाख्रा पालन ।

वैदेशिक रोजगारको क्रममा परिवार, आफन्त र देश छाडेर आर्थिक उपार्जनको लागि विदेश बस्नुभन्दा आफ्नो देशमा बसेर काम गर्ने सोच भएका साथीहरूसँग सामूहिक रूपमा काम गर्नु राम्रो भएको उनी बताउँछन् । हाल उनीसँगै पाँच जना युवाहरूले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा बाख्रा फार्म खोलेका छन् ।


उनीहरूको समूहले सुरु गरेको शिमल्थली एग्रो प्रालि कम्पनीमा हालसम्म नौ करोड लगानी भैसकेको छ । हेटौंडाको मुख्य बजार क्षेत्र नजिकै रहेको यो बाख्रा फार्ममा हाल ४५० वटा बाख्रा छन् ।

दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर–१ घर भएका उनी हाल बसामाडी सिमल्थली बस्दै आएका छन् । 'विदेशीभूमीमा हण्डर ठक्कर खाँदै नौ वर्ष बिताएँ,' उनले भने, 'सन्तुष्टि यहाँ छ ।' वैदेशिक रोजगारको क्रममा बचाएको बजेट यहाँ लगानी गरेको उनले बताए । यस फार्मबाट हाल आम्दानी लिन थालेका छन् ।

'म आफैं सञ्चालक र कामदार हु' उनी भन्छन् । काम गर्दैमा सानो भइन्छ भन्ने सोच नराखी बिहानदेखि बेलुकासम्म बाख्रा फार्ममा काम गर्दै आएको उनले बताए ।

शुरुमा शिमलथली उन्नत बाख्रा फार्मबाट दुईजनाको लगानीमा सुरु गरेको यो फार्म अहिले शिमल्थली एग्रो प्रालि बनाइएको छ । २०७० सालमा सुरु गरेको यो फार्ममा अहिले भने पाँच जना लगानीकर्ता छन् । मकवानपुरकै उत्कृष्ट र ठुलो लगानी भएको फार्म मध्य यो एक हो । हेटौंडाका गोविन्द सुवेदी र शिताराम अधिकारीले सुरु गरेको बाख्रा फार्ममा सञ्चालकसंगै संरचना र घाँस खेती गरिएको जग्गाको क्षेत्रफल पनि थपिएको छ ।

कम्पनीको नाममा रहेको ४५ कठ्ठा जग्गामा आधुनिक शैलीको खोरसहित विभिन्न संरचना निर्माण गरिएको छ । साढे ५ बिगाहा क्षेत्रफल जग्गा भाडामा लिएर घाँस खेती गरिएको छ । काठमाडौं दक्षिणकाली–८ घर भएका पवन आचार्य बाख्रा पालनका क्षेत्रमा नमुना ढंगले काम गर्नका लागि लगानी गरेरै हेटौंडामा बसेका छन् ।

१५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस बाख्रा फार्ममा विदेशबाट फर्किएका युवाहरूले लगानी गरेका छन् । काम गर्नका लागि पनि बिदेशमा बसेर फर्किएका युवाहरूलाई प्राथमिकता दिइएको छ । रोजगारीका लागि परिवार नै छोडेर विदेशिएका युवाहरूलाई यसले पनि निकै टेवा पर्‍याएको छ । विदेशबाट फर्किए पनि स्वदेशमा नै रोजगारी पाएकोमा युवाहरू खुसी छन् ।

यस बाख्रा फार्मका विभिन्न खोरमा ठूलासाना गरी ४ सय ५० वटा बाख्रा रहेका छन् । कुल नौ करोड रुपैयाँ लगानीमा साढे चार करोड रुपैयाँ एभरेस्ट बैकबाट ऋण लिइएको छ । यहाँको खोरमा बोयर जातका २१ वटा ठूला बिउ बोका छन् । २ सय वटा माउ बाख्रा छन् । अरु बयस्क पाठापाठीहरू रहेका छन् । यसलाई अझै व्यवस्थित बनाउन लागिएको अर्का लगानीकर्ता शिताराम अधिकारी बताउँछन् ।

रहर लाग्नेगरी बोयरजातका बाख्रा पालन गरेको हेर्नका लागि विभिन्न जिल्लाबाट यस फार्ममा आउने गरेका छन् । फार्मसँगै खेतका गरामा देखिने घाँस खेती पनि निकै रहर लाग्दो छ । बाख्रालाई आवश्यक सबै घाँस यहाँबाट नै काट्ने गरिएको छ । यस फार्मबाट १८ जना युवाहरूले रोजगारी पाएका छन् । यसै बाख्रा फार्मबाट देशभरका स्थानीय सरकार, विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाहरूले बाख्रा, बोयर जातका बोका खरिद गरेर लैजाने गरेका छन् ।

यो फार्मले ६६ वटा जिल्लामा बिउका रुपमा बोयर जातका बोका पुर्‍याएको छ । बाख्रा पालनमा नमुना फार्म भएकै कारणले बागमती प्रदेश सरकारले यस फार्मका सञ्चालकलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत गरेको छ । फार्मबाट मकवानपुरका २१ वटा समुहका लागि १५ वटा बिउ बोका वितरण भएको छ । बाख्रामा नश्ल सुधारका लागि उत्पादित पाठापाठीको बजारीकरण समेत गरिएको छ ।

बाख्रा खरिद गर्नका लागि पनि नसक्ने र विदेशबाट फर्किएर नेपालमै केही गरौ भन्ने युवाहरूका लागि एक सय ५० वटा बाख्रा उपलब्ध गराइएको छ । हालसम्म बाख्रा पाल्नका लागि ४ सय घरका १२ सय जनालाई तालिमसमेत दिइएको छ ।

मकवानपुरकै मनहरी गाउँपालिकामा यस्तै अर्को फार्म छ । जहाँ वैदेशिक रोजगारबाट फर्केका युवाहरूले माछा, हाँस पालन गरी एग्रो पर्यटनको रुपमा फार्मको विकास गरिरहेको छ ।


Author

थप समाचार
x