कृषि

सन्दर्भ : धान दिवस

देश कृषिप्रधान, विदेशीले गर्छन् खर्बौँको खाद्यान्न प्रदान

कमल धिताल |
असार १५, २०७९ बुधबार १५:२१ बजे

काठमाडौँ- नेपाल कृषिप्रधान देश भएतापनि बाहिरी देशबाट खाद्यान्न आयात गरिने गरिएको छ । पछिल्ला केही वर्षदेखि उत्पादन हुने जमीन बाँझो बस्न थालेपछि विदेशबाट भित्रिने खाद्यान्नको परिमाणमा वृद्धि हुनसमेत थालेको छ ।

विगतमा छिमेकी राष्ट्रहरूमा धान चामल निर्यात गर्ने नेपालले पछिल्ला वर्षहरूमा भने धान चामलको आयात दिनप्रतिदिन बढाउँदै लगेको हाे । सन् १९६१ मा छिमेकी राष्ट्र भारतले ७ लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले ४ लाख ९१ हजार मेट्रिक टन धान चामल आयात गरेको बेला नेपालले २ लाख ८९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो ।


जसको त्यो बेलाको मूल्य ४ करोड ३० लाख अमेरिकी डलर थियो । यो क्रम सन् ८५ को मध्यसम्म घट्दो क्रममा चलेको थियो । १९८५ मा नेपालले १ करोड ३० लाख अमेरिकी डलर बराबरको ५९ हजार मेट्रिक टन चामल निर्यात गरेको थियो । प्रदेश १ का खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय महाशाखा प्रमुख डा. राजेन्द्र उप्रेती बताउँछन् ।

विगतमा गर्विलो निर्यात गर्ने गर्विलो इतिहास बोकेको नेपाल पछिल्ला दिनमा भने छिमेकीहरूले निर्यात बन्द गर्दा भोकमरीमा जाने अवस्थामा पुगेको छ । चिनी र गहुँ निर्यात बन्द गरेको भारतले चामल समेत निर्यात बन्द गर्ने अवस्थामा पुगेको छ। आफ्ना जनतामा महँगी बढेको भन्दै हाललाई खाद्यन्न निर्यात बन्द गर्ने मनसायमा भारत पुगेको समाचारहरू सार्वजनिक भैरहेका छन्।

कुनैपनि राष्ट्रले पहिलो प्राथामिकतामा आफ्ना जनतालाई राख्नु स्वाभाविक हो । भारतले धान चामल निर्यात बन्द गरेमा नेपाललगायतका राष्ट्र नराम्ररी प्रभावित हुनेछन् । आयआर्जनको प्रमुख पेसा कृषि रहको देशमा पछिल्ला वर्षहरूमा छिमेकी राष्ट्रमा परनिर्भरता दिनानुदिन बढ्दै गएको छ ।

सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरेर बेलैमा मल बिउ लगायतका सामाग्री उपलब्ध नगराउँदा कृषि क्षेत्रको उत्पादन दिन प्रतिदिन घट्दै गैरहेको देखिन्छ।

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/०७८ वर्षसम्ममा नेपालले ४७ अर्ब भन्दा बढीको धान आयात भएको छ । जुन वर्षै पिच्छे बढ्दै गएको देखिन्छ । २०७३/७४ मा ४ अर्ब २८ करोड रूपैयाँ बराबरको धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ जुन २०७७/७८ सम्म आइपुग्दा बढेर १९ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ। यस्तै चालू आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोड रूपैयाँ बराबरको धान आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

कृषि जन्य आयात बढ्नुमा नेपालमा रहेका खेतीयोग्य र उर्वारभूमीमा प्लटिङ र वस्ती बसाल्नु नै प्रमुख रहेको कृषिविद्हरू बताउँछन् । कृषिविद् मदन राई विगतमा निर्यात गर्नसक्ने देशले हाल तिनै निर्यात भएका देशबाट आयात गर्नुपर्ने अवस्थामा आउनु लज्जास्पद रहेको बताउँछन् । ‘नेपालीहरू निकै अल्छि हुँदै गए अब यस्तै पाराले हामी श्रीलंका भन्दा पनि खराब अवस्थामा पुग्दै छौँ’ उनले भने । कृषि प्रधान मुलुकमा यसरी कुनै देशले खाद्यन्न निर्यात रोकेको अवस्थामा भोकमरी आउने अवस्था आउनुमा यहाँको व्यवस्था नै प्रमुख कारण रहेको राई बताउँछन् ।

आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/७८ सम्म पाँच वर्षको अवधिमा १ खर्ब २० अर्बबढीको चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमा आव २०७३/०७४ मा १९ अर्ब ५९ करोड रूपैयाँ बराबरको चामल आयात भएको देखिन्छ। २०७४/०७५ चामल आयात बढेर २३ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ। आव २०७५/०७६ मा २५ अर्ब ७४ करोड रूपैयाँ बराबरको चामल आयात भएको थियो। २०७६/०७७ मा चामलको आयातमा केही कमी भएको तथ्यांकले देखाउँछ। २०७६/७७ मा २३ अर्ब १७ करोड रूपैयाँ बराबरको चामल आयात भएको छ। २०७७/०७८ मा पुन: आयातको ग्राफ उकालो लागेको तथ्यांकले देखाउँछ । सो आवमा २८ अर्ब ६० करोड रूपैयाँ बराबरको चामल आयात भएको तथ्यांकले देखाउँछ।

यस्तै भन्सार विभागको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको ११ महिनामा गहुँको आयात पनि उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाउँछ । ११ महिनाको अवधिमा नेपालले गहुँमा ५ अर्ब ६३ भन्दा बढी रकम बराबरको गहुँ आयात गरेको छ।

अन्य कृषिजन्य सामाग्रीहरू कोदोको ३ करोड ८२ लाख जौ १ अर्ब २१ तथा १८ लाख २७ रूपैयाँ बराबरको फापर आयात समेत आयात भएको तथ्यांङ्कले देखाउँछ।

१६ अर्बको मकै आयात

विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौं रकम बाहिरिएको देखिन्छ । नेपालको हावापानी अनुकूल रहने मकै खेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौं रकम विदेशिने गरेको हो । विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ । 

कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ । यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । जसको लागत मूल्य १ अर्ब ८ करोड १० लाख २५ हजार बराबर छ ।

 

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x