कृषि

मलको अभावले तराईका धान खेतहरू बाँझै

इकागज |
असार ८, २०७९ बुधबार १९:१३ बजे

फाइल तस्बिर

बारा- रोपाइँ सिजनको मध्यमा पर्ने ‘आदरा’ अर्थात् असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाइँ सुरू पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आद्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्तासम्म ढिलो भएको छ । 

त्यसमाथि मल पनि नपाइने भएपछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरू गरेका छैनन् । यसरी मल नपाइने भएपछि अन्‍नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाइँ प्रभावित भएको छ । खेतहरू बाँझै रहेका छन् । 


कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिँचाइको समस्या दोहोरिने गरेको भए पनि किसानहरूले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्‍ने जुक्ति अब नरहेको उनले बताए । 

कृषी ज्ञान केन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरूमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोजमै काटिने सारो धान छिटफुट रोपिएका छन् । तर यो पटक भने यी जिल्लाहरूमा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरू तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ । 

यता कृषि सामग्री कम्पनीको विरगंजस्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्‍ने यकिन हुन सकेको छैन । असारको तेस्रो सातासम्म मल यहाँ आइपुग्‍ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए । 

झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ  र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्‍चालक राजेन्द्रबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए । 

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीएपीको वितरण यहाँ सुरू गरे पनि मागभन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ वितरण कसरी गर्ने भने सकस भएको छ । 

गत जेठ २१ मा साल्ट ट्रेडिङकाे २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिँडिसकेर ५ दिन भित्र आइपुग्‍ने अनुमान गरिएको विरगंजस्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।
न्युज कारखाना


Author

थप समाचार
x