कृषि

बजेट समाजवाद उन्मुख भएन : बामदेव गौतम

इकागज |
असार ६, २०७९ सोमबार १५:४२ बजे

राष्ट्रियसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदन समक्ष प्रस्तुत गरेका छन् । 

सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्‍न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले एउटा संघीय सरकारले नै जमिन परिचालन गर्ने र अर्को स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्ने गरी दुई दृष्टिकोण सार्वजनिक गरेका हुन् । 


उनको पहिलो दृष्टिकोण अनुसार मुलुकका कृषियोग्य जमिन सरकारले किन्‍ने र त्यसमा केन्द्रले नै काम गरेर आर्थिक विकासमा लाग्‍ने रहेको छ । 'हाल कृषि उत्पादन गरेको २६ लाख हेक्टर जग्गा छ, त्यसलाई सरकारले किनोस्,  किन्‍नका लागि पैसा चाहिँदैन,' गौतमले भने, 'त्यही जमिनमा पैसा छ, यसका लागि करिब ४ सय रुपैयाँ खर्ब मूल्यमा प्राप्त गर्न सकिने र त्यसबाट ठूलाठूला कृषि फार्म निर्माण गर्न सकिन्छ ।' उनले त्यहाँ काम गर्नलाई मानव र जनशक्ति त्यही कृषि क्षेत्रमा नै रहेको र त्यसरी उत्पादन गर्न सके मुलुक आत्मनिर्भर हुने जिकिर पनि गरे । 

उनको दोस्रो दृष्टिकोण भने हालै चलिरहेको कृषि उत्पादनमा केन्द्रित छ । गौतमले दोस्रो दृष्टिकोण प्रस्तुत गर्दै भने, 'यही अवस्थामा जाने हो भने जमिन पालिकालाई प्रदान गरौँ र सामूहिक उत्पादनमा काम गरौँ, त्यसबाट आर्थिक विकास गर्न सकिन्छ ।' 

उनले यी दुई तरिका अपनाउन सके मात्रै सामूहिक उत्पादन बढ्छ र संविधानले अवलम्बन गरेको समाजवाद उन्मुख राज्यको आधार तयार हुने बताए । यसबाट स्थानीय तह सम्पन्‍न पनि हुने र संघीयताको संरचनाको आधार पनि तयार हुने उनको निष्कर्ष छ । 

मुलुकमा सबैभन्दा ठूलो उत्पादनको साधन कृषिबाहेक अरू कुनै हुन नसक्ने जिकिर गर्दै गौतमले विनियोजन विधेयक हेर्दा एउटा पनि कार्यक्रम समाजवाद उन्मुख नभएको भन्दै आलोचना गरे । आर्थिक, सामाजिक रुपान्तरणबाट समृद्ध समाजवाद निर्माण गर्ने कुरामा दृष्टिकोणको नै अभाव रहेको उनले बताए । उनले कृषि क्षेत्रबाटै सबै कुरा प्राप्त हुने हुँदा साँच्चिकै विकास गर्न कृषि क्षेत्रमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको औँल्याए । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेट अपर्याप्त छुट्ट्याइएको उल्लेख गर्दै गौतमले कार्यक्रम लागू हुनेमा नै आशंका व्यक्त गरे ।
 


Author

थप समाचार
x