प्रवास

२०२१ लाई फर्केर हेर्दा

वैदेशिक रोजगारीमा लागेको ग्रहण आधा हट्याे

एक वर्षमा दुई लाख श्रमिकले मुलुक छोडे

अतिन आचार्य |
पुस १७, २०७८ शनिबार १२:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारी नेपाल र नेपालीका लागि सन् २०२१ त्यति धेरै उत्साहपूर्ण त भएन तर २०२० मा जस्ताे ठप्प पनि भएन । २०१९ काे अन्त्यतिर काेभिड महामारी फैलिएपछि अन्य क्षेत्र जस्तै वैदेशिक राेजगारकाे क्षेत्र पनि ठप्प बनेकाे थियाे । अझै श्रम गन्तव्यमा रहेका कामदार फर्काउन समेत सरकारमाथि दबाब बढ्दै गएकाे थियाे । तर काेभिड प्रतिराेधी खाेपकाे आपूर्तिसँगै २०२१ देखि भने वैदेशिक राेजगारमै रहेका कामदारहरू पुन: आफ्नाे काममा फर्किए भने नेपालबाट कामदार जाने क्रम पनि शुरु भयाे ।  साउदी, कतार र कोरिया लगायतका मुलुकमा केही संख्यामा नेपाली कामदार गए । 

कोभिड-१९ को महामारीले नेपाली श्रमिकका लागि गन्तव्य मुलुक ठप्प प्राय थियो । गन्तव्य मुलुकको बाटो मात्र बन्द भएन जसले रेमिट्यान्स आप्रवाहलाई समेत प्रभावित बनायो । धेरै मानिसलाई रित्तो हात फर्कायो । रित्तो हात मात्र फर्काएन ऋणको भारी समेत बोकेर एयरपोर्टमा झरे ।


महामारी सुरु भएपछि सरकारले मुलुकमा २०७६ चैतदेखि लकडाउन घोषणा गर्‍यो । अन्तर्राष्‍ट्रिय उडानमा समेत प्रतिबन्ध लागेकाे थियो । जसले हजारौं श्रमिकलाई गन्तव्य मुलुकमा जान रोक्यो । कोभिड संक्रमित र मृत्युदरको ग्राफ उकालो लाग्यो । सबै क्षेत्र प्रभावति बन्यो । सोही वर्ष सबैभन्दा बढी प्रभावित बन्यो वैदेशिक रोजगारीको क्षेत्र ।

वैदेशिक रोजगारीबाट आएको रेमिटयान्सले मुलुककाे अर्थतन्त्र धानिरहेको छ । देशभित्र आर्थिक क्रियाकलाप ठप्प हुँदा पनि रेमिट्यान्सकै कारण मुलुककाे अर्थतन्त्र असफल हुनबाट जाेगिएकाे हाे । गत वर्षदेखि कोभिडविरुद्धको खोप लगाउन थालिएपछि मानिसहरूकाे आवागमन बढेकाे छ । विस्तारै वैदेशिक रोजगारीको क्षेत्र चलायमान हुन थालेको छ । यस वर्ष नेपालबाट श्रम गरी करिब दुई लाख मानिस रोजगारका लागि गएका छन् ।

वैदेशिक रोजगार विभागकाअनुसार पहिले गइसकेका मुलुकमा श्रम गरेर कामदार बढी गएका छन् । केही संख्यामा कतार र साउदी अरब गएका छन् । खाँडीमा आकर्षक मानिएको मुलुक दुवईले अहिलेसम्म श्रमिक भिसामा कामदार लगेको छैन । अहिले पनि विभिन्‍न माध्यमबाट भिजिट भिसामा जाने गरेका छन् ।

कामदारका लागि खोप प्रमाणीकरणमा झन्झट भए पनि गन्तव्य मुलुकमा गइरहेका छन् । अहिले पनि सबैभन्दा बढी झन्झट खोप प्रमाणीकरणमा छ । खोप पाएसँगै वैदेशिक रोजगारका लागि ढोका खुल्दै गएको छ ।

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ लागेको छ । यतिखेर त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा यात्रु कक्षमा खचाखच धेरै मानिसहरू लाइनमा छन् । थप नयाँ गन्तव्य मुलुकको खोजी हुन्छ हुन्‍न यो विषय अझैसम्म अन्यौलै छ । मुलतः कोभिड नियन्त्रण नभएसम्म स‌ंशय नै रहनेछ ।

वैदेशिक रोजगारीको नीति परिवर्तन गर्छौ

महामारीले केही समय अवरुद्ध रहे पनि अहिले बिस्तारै चलायमान हुन थालेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे बताउँछन् । मन्त्रालयको तर्फबाट नयाँ-नयाँ गन्तव्य मुलुकको लागि श्रम-सम्झौता गर्न खोजिरहेको उनको भनाइ छ ।

मन्त्रालयले कामदारलाई सहुलियत दरमा पठाउन पहल गरिरहेको छ ।' वैदेशिक रोजगारीमा सुधार गर्नुपर्ने धेरै क्षेत्र छ,' उनले भने,' युएईमा भिजिट भिसामा गइ अलपत्र परेका छन् । त्यस्ता कार्यलाई निरुत्साहन गर्नुपर्नेछ । मुख्य कुरा नीति परिवर्तन गर्नुछ । सिण्डिकेट लागू हुने गरी नीति बनेको थियो ।'

वैदेशिक रोजगारबाट फर्केर आएकालाई नेपालमा आत्मनिर्भर बनाउनलाई कार्ययोजना बनिसकेको घिमिरेले प्रस्ट पारे । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन त्यसको स्वरुप परिवर्तन गर्न लागिरहेको उनले बताए ।

सरकारको सहयोग भएन

नेपाली कामदारलाई सरकारले निर्धारण गरेको जनस्वास्थ्यका मापदण्ड पालना गराएर थोरै संख्यामा भए पनि श्रमिक पठाइरहेको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउँछन् ।

'पहिलो चरणको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि रोजगारीमा पठाउनलाई सहज भएको थियो,' उनले भने, 'दाेस्राे लहरले पनि प्रभाव पार्यो । कोभिडविरुद्धको खोप लगाउन थालेपछि केही सहज भएको छ ।' कामदारको मागलाई सहजीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले तर्क राखे ।

तामाङकाअनुसार पहिलो र दोस्रो कोभिड सुरु भएपछि करिब २ लाख कामदार पठाइसकेको छ । व्यवसायीले कामदारको माग ल्याएका छन तर, सरकारले व्यवसायीलाई सहयोग नगरेको उनको भनाइ छ ।

विदामा घर आएका र केही मुलुकबाट नयाँ माग अनुसार आएका ड्राइभिङ, लेभर र क्लिनर कामका लागि बाहिर गइररहेका छन् । 'हामीले खाँडी मुलुकबाट माग भएर आएका कामदार पठाउन पहल गरिरहेका छौ,' तामाङले भने ।

वैदेशिक रोजगारमा परेका श्रमीकलाई उद्धार गर्ने तयारी गरिरहेको तामाङले बताए । कति कामदार अलपत्र परेका छन सम्बन्धित मुलुकमा रहेकाे कूटनीतिक नियोगसँग सम्पर्क गरी तथ्यांक लिने काम भइरहेको उनले सुनाए ।

'मन्त्रालय र सरोकारवाला निकायसँग छलफल चलिरहेको छ,' उनले भने,' वैदेशिक रोजगारीमा जानेलाई सहजै कोभिडविरुद्धो खोप र कार्ड प्रमाणीकरणमा भएको झन्झट हटाइनुपर्छ ।'

चार वर्षमा लिए १० लाख बढीले श्रम स्वीकृति

ताहाचल श्रम कार्यालयकाअनुसार दैनिक १ सयका हाराहारीमा श्रम स्वीकृति लिन आइरहेका छन् । भोलिपल्ट टिकट छ भन्‍दै श्रम स्वीकृति लिन आउनेको संख्या बढिरहेको उनले जानकारी दिए ।

श्रम कार्यालयले पछिल्लो समय अनलाइनबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । अनलाइनबाट तीन सय ५० ले स्वीकृति लिन आवेदन दिने गरेका छन् । 

एक सातामा चार हजार भन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । विदामा घर आएर फर्कन चाहने र व्यक्तिगत भिसामा जानेहरू बढी रहेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x