प्रवास

जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

संगीता कुँवर |
जेठ ३, २०८० बुधवार ७:४९ बजे

जापान- जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। 

जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।


दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । प्रहरीले उनीहरूको नाम खुलाएङ्को छैन ।

मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु लाइनमा पर्ने बाटोमा बस रोकिएपछि बसमा सवार सबै जना बाहिर निस्किएको र बसको बाहिर पछाडि उभिरहेका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा उमेरका रहेको पाइएको छ । बसमा सवार अधिकांश नेपाली हुनुको कारण काम गर्ने कम्पनीको गाडी हुन सक्ने अनुमान गरिएको छ। 

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण साँझ बन्द भएको सडक बिहान मात्र सञ्‍चालनमा आएको छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x