प्रवास

नेपाली राजदूतावासको आयोजनामा मनाइयो टोकियोमा बुद्धजयन्ती

संगीता कुँवर |
बैशाख २४, २०८० आइतबार १६:११ बजे

टोकियो​- २५६७औँ बुद्धजयन्तीको नेपाली राजदूतावास टोकियोको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजधानी टोकियोमा आयोजित औपचारिक कार्यक्रममा दिप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण, नाचगानसहितको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जापानको प्रतिनिधिसभाका सदस्य हिरागुची हिरोसीले वर्षौं अघि नेपाल पुगेको सम्झना गर्दै नेपाल जापानको संस्कार खाना र आत्मीयताको बयान गरेका थिए । हिरोसीले नेपालको सगरमाथा र सुन्दर हिमालको चर्चा गर्दै जापान नेपालबीचको आपसी सद्भावको पनि खुलेर कुरा गरे ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापानबीचकाे सम्बन्धको कुरा सँगै विश्वमा हिजो भन्दा आज भगवान् गौतम बुद्धका उपदेश सान्दर्भिक र सार्थक बन्दै गएको बताए । 

साथै शान्तिका दुत भगवान् बुद्ध जन्मेको देशका नेपालीले पनि शान्ति, अहिंसा, मानवताका वाणी मनन गर्दै शान्तिको अस्तित्व कायम राख्न प्रयास गर्न अनुरोध समेत गरे । कार्यक्रममा प्रोफेसर सुदन शाक्यले बौद्ध धर्मबारे सामग्री समेत देखाएका थिए । जापानी नागरिक युको ओकामोतोले बौद्ध धर्म अन्तर्गतको नेवार समुदायमा नाचिने चर्या नाच पनि प्रस्तुत गरेकी थिइन् ।​

नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्विका जोशी र यशोदा बस्नेतको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जापानी र नेपालीहरूको बाक्लो सहभागिता रहेको थियो ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x