प्रवास

जापानमा फुल्यो राजा वीरेन्द्रले उपहार दिएको हिमालय साकुरा

संगीता कुँवर |
माघ १८, २०७९ बुधवार १०:५ बजे

जापान- वसन्त ऋतुमा जापानमा ढकमक फुलेका राता सेता साकुरा (पैयूँ)ले जापान सेताम्मे र राताम्मे हुन्छ । जापानमा मार्चको अन्तिम हप्तादेखि अप्रिल पहिलो हप्ता देशभर धेरै ठाउँमा साकुरा फूल छ । 
 
तर यतिबेला सिजोओकाको आतामी सहरमा हिमालय साकुरा नाम रहेको साकुराले ढाकिएको छ । यो साकुरालाई धेरै जापानीले जाडोमा फुल्ने हिमालय साकुरा भनेर चिन्छन् । नोभेम्बर डिसेम्बर र जनवरी महिनामा फूल्ने साकुरा नेपाल र जापानको मित्रताको चिनोको रूपमा हेरिने जापानी मिडियाले खबर लेखेका छन् ।


नेपालबाट टोकियो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९६८ मा आतामी सहरमा उपहार स्वरूप साकुरा (पैयूँ)को बिरुवा दिएका थिए । सोही साकुराको नाम हिमालय साकुराको भनेर चिनिएको हो । यसको रङ्ग मार्च महिनामा फूल्ने सामान्य साकुराभन्दा अलिकति रातो रङको हुन्छ ।

केही वर्षअघि राजा वीरेन्द्रले उपहार दिएको साकुरा जापानको आतामीमा फुल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गरेका थिए । यसका बिरूवाहरू बढाएर अहिले आतामीका बिभिन्न पार्कहरूमा बढाइएको छ ।

मार्च महिनामा मात्र नभएर साकुराको रौनक र सौन्दर्यता पर्यटक आकर्षण गर्न जाडो मौसममा फूल्ने हिमालय साकुराको पनि पछिल्लो समय बिरुवा बढाउँदै लगेका छन्  ।आतामी सहरमा जाडो महिनामा मै फूलेको साकुराप्रति पर्यटक तान्‍ने राम्रो आधार पनि बनेको छ । जापानीहरू वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने फूल हिमालय साकुरा रहेको समेत बताउँछन् ।

वसन्त ऋतुमा साकुरा हेर्न थु्प्रै देशबाट पर्यटक जापान आउँछन्।साकुरा फूलको आयू १ हप्तादेखि २ हप्ता सम्मको मात्र हुन्छ । साकुरा हेर्न जानेहरू फूल्ने समय समाचार हेरेर त्यहाँ पुग्ने गर्दछन् ।

यो समय नेपालमा पनि (पैयूँ) फूल्ने समय हो । जापानीहरूले वसन्त ऋतुमा विदेशी पर्यटक तान्ने राम्रो आधार साकुरालाई बनाएका छन् । नेपालमा पनि पैयुँ, लालिगुरासँ, लालुपाते फूलहरूलाई संरक्षण गरेर फूल्ने मौसममा आन्तरिक या बाह्य पर्यटक तान्ने आधार बनाउन पनि सकिन्छ । 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x