प्रवास

नागरिकता विधेयकमा वैकल्पिक बाटो रोज्न एनआरएनएको आग्रह

इकागज |
असोज ९, २०७९ आइतबार १५:२८ बजे

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीले संसद्‍को दुवै सदनबाट पारित सो नागरिकता विधेयकलाई रोकेपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरू लगायत सम्बन्धित सबै समक्ष आग्रह गरेको हो ।


संघका प्रवक्ताद्वय शिवकुमार बरुवाल र सोम सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपाल र नेपालीको समृद्धिका लागि गैरआवासीय नेपाली संघ नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज लगायत समस्त नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

विज्ञप्तिमा दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूकाबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रूप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरूलाई दुखित बनाएको उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ

नेपालको संविधान २०७२ को धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सुनिश्चित गरिएको नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, संसद्‍को दुवै सदनबाट पारित हुँदा हामी सम्पूर्ण गैरआवासीय नेपालीहरू अत्यन्तै हर्षित भएका थियौं । 

दुवै सदनबाट पारित उक्त विधेयकले गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँग जोड्नुका साथै नेपाली सरह सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गर्ने र गैरआवासीय नेपालीहरूसँग रहेको सीप, ज्ञान, साधन र श्रोतको लगानी नेपालमा भित्र्याउन सहज बनाउने कुरामा हामी विश्वस्त छौं । 

दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूकाबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयकले ऐनको रुप लिएर कार्यान्वयन हुन नसकेको अहिलेको अवस्थाले गैरआवासीय नेपालीहरूलाई दुखित बनाएको छ । 

संविधान जारी भएको सात वर्ष सम्म पनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून बन्न नसकिरहेको परिस्थितिमा सवै पक्षहरूको अथक प्रयासबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुवै सदनबाट पारित भैसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्वन्धी ऐन, नियमहरू बन्न ढिलाई हुने अवस्थाको सिर्जना प्रति गैरआवासीय नेपालीहरू अत्यन्तै चिन्तित छन् र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ ले ऐनको रुपमा कार्यान्वयन हुने अवस्थाको अन्यौलताले गैरआवासीय नेपाली संघलाई अत्यन्तै दुखित बनाएको छ । 

संघ नेपालको संविधान २०७२ को धारा १४ ले व्यवस्था गरे अनुसार नै गैरआवासीय नेपाली नागरिकताका लागि निरन्तर प्रयासरत रहने छ र छिट्टै यो विषयले निकास पाउने कुरामा विश्वस्त छ ।

गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ र यसको गम्भीरतालाई ध्यान दिँदै सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई केही समय धैर्यधारण गरी दिनु हुन हार्दिक अपील गर्दछ ।  

नेपाल र नेपालीको समृद्धिका लागि गैरआवासीय नेपाली संघ नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज लगायत समस्त नेपालीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि गैरआवासीय नेपाली संघ नेपाल सरकार, नेपालका राजनीतिक दलहरू लगायत सम्बन्धित सबै समक्ष हार्दिक आग्रह गर्दछ । 

शिव कुमार बरुवाल
सोम सापकोटा
प्रवक्ता


Author

थप समाचार
x