प्रवास

'संघको नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गर्न नसके संस्थान नै विघटन हुन्छ'

इकागज |
असोज ३, २०७९ सोमबार १४:४३ बजे

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पूर्वाधार तयार गरेर संघको नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् ।

उनले नेपाली प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिले आइतबार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफू सुरुदेखि नै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनु पर्ने पक्षमा आफू रहेको बताए । उनले सन् २०२३ मा संघको नेतृत्वका लागि निर्वाचन गर्न नसके संस्थान नै विघटन हुने उल्लेख गरेका छन् ।


पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरेपछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरी मतदान गर्न सकिने उनकाे भनाइ थियाे । तीन जना अध्यक्ष बनाएपछि मुखै देखाउन नसक्ने अवस्था आएको उनले जिकिर गरे । अहिलेकै विधानमा न्यूनतम सहमति गरेर अघि बढ्न आग्रह समेत उनले गरे ।

संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निर्माण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे । उनले अहिले संघभित्र तीन जना अध्यक्ष हुँदा समाजमा मुख देखाउन समेत नसकिने अवस्था रहेको बताउँदै वर्तमान विधानमा न्यूनतम सहमति गरेर निर्वाचनको सुनिश्चितता गर्नुपर्ने उनकाे भनाइ छ ।

संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसा राखेर दिने विकृतिको अन्त्य गर्नुपर्नेमा शर्माले जोड दिए । संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वका लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए ।

'अबको एनआरएनए– हाम्रो भूमिका विषयक' कार्यक्रममा बोल्ने वक्ताहरुले संघको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप, आर्थिक चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । संघका केन्द्रीय उपमहासचिव रामशरण सिम्खडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङलगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले आ-आफ्नो भनाइहरु राखेका थिए ।


Author

थप समाचार
x