प्रवास

वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? ठगिनबाट यसरी जाेगिनुहाेस्

इकागज |
असार १९, २०७९ आइतवार ११:५७ बजे

फाइल तस्वीर

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरु ठगिनेक्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्दति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरु झेल्नुपरेका धेरै घटनाहरु छन्,’ साउदी अरबस्थित नेपाली दूतावासका सूचना अधिकारी ऋषिराज आचार्यले भने । 


विशेष गरी कामदार साउदी अरब आउनासाथ काम र अन्य कुराहरुमा समायोजन हुन नसक्दा अविलम्व घर फर्कन चाहने, काम छाडेर सडकमा विक्षिप्त अवस्थामा हिड्ने, ज्यानै समेत जोखिममा परेका घटनाहरु हुने गरेको उनले सुनाए । 

साउदी जान चाहनेले सबैभन्दा पहिला त्यहाँको हावापानी र रहनसहन बझ्न जरुरी छ । साउदी एक इस्लामिक देश हो र यहाँ इस्लामिक कानून लागू हुन्छ । साउदी हावापानीका दृष्टिले निकै गर्मी देश हो । यहाँ गर्मीमा ५० डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले गर्मीमा खुला ठाउँमा काम गर्दा ज्यान समेत जानसक्छ । 

साउदी जानेले बुझ्नु पर्ने दोस्रो विषय हो– कपफल पद्धती । साउदीको भिषा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति वेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यावसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो । 

‘कफिल भनेका मालिक हुन् । कफिलले भिषा उपलव्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसावमा साउदी अरब प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति वेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिदैन,’ सूचना अधिकारी आचार्यले भने । 

कफला पद्धति सिद्धान्ततः कामदारको संरक्षण र सुरक्षा गर्ने पद्धति भए पनि  कार्यान्वयनमा भने थुप्रै प्रकारका समस्या देखिने गरेका छन् । यो पद्धतिको दुरूपयोग हुनेगरेका कारण कतिपय अवस्थामा कामदारले श्रम शोषण तथा अन्य कठीनाइहरू झेल्नुपर्ने अवस्था आउने गरेको छ । 

कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्धा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौंसम्म अदालतमा  मुद्धा चल्ने र अदालतबाट निरुपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने हुनसक्दछ । 

‘कफिलको मृत्यु भएमा वा स्पोन्सर कम्पनी कानूनी समस्यामा परेमा कामदार पनि समस्यामा पर्ने हुन्छ । उसको अर्को कानूनी हक हस्तान्तरण भएर कफला नभएसम्म सबै सेवाहरू र काम ठप्प हुन सक्दछन । यसबाट वर्षौसम्म पनि कुनै नेपाली साउदी अरबमा नै बस्न वाध्य हुनुपर्ने अवस्था हुन्छ । यस किसिमका जटील समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ,’ उनले भने । 

कफिलले ३ महिना सम्म सेवा सुविधा वा अकामा नदिएमा वा नवीकरण नगरेमा वा कम्पनी रेडमा अवस्था भएमा श्रम कार्यालयको स्वीकृतिमा कफला स्थानान्तरण गर्न सकिन्छ । तर प्रायः नेपाली कामदारले यो कुरा नबुझ्ने, भाषाको कठिनाइ हुने र श्रम अदालत जान डराउने कारण यो प्रावधानको अवलम्बन गरी आफ्नो समस्याको निकास खोजेको पाइदैन ।

‘यस्ता समस्याका कारण कामदारले कम्पनी छोड्ने गर्छन् जसका कारण उनीहरु अझ ठूलो समस्यामा पर्ने गर्छन् । यसरी कामदारहरू समस्यामा परेको मौका हेरी साउदी अरब मै रहेका कतिपय नेपालीहरूले कामदारलाई बढी तलव सुविधाको लोभ देखाइ गैरकानूनीरुपमा काममा लगाउने र पारिश्रमिक नदिने गरेको घटनाहरू प्रशस्त पाइएका छन्,’ उनले भने । 

साउदी अरब पुगेका महिला कामदारले धेरै समस्य भोग्नु परेपछि अहिले महिला कामदार साउदी लैजान बन्द गरिएको छ । अस्पतालहरूले आफ्नै भीसामा नर्स तथा सफाइ कामदारमा महिला ल्याउन चाहेमा राजदूतावासले सम्पूर्ण सेवा सुविधाका बारेमा निरीक्षण र अस्पतालसँग बैठक गरेपछि मात्र उपयुक्ताको आधारमा प्रकृया अगाडि बढ्दछ । 

‘घरेलु कामदारमा साउदी आउन पूर्ण बन्देज छ । परिवारका सदस्यहरू मात्र राजदूतावासको सिफारिशमा भिजिट भिसामा साउदी अरब आउन पाउने प्रावधान छ,’ सूचना अधिकारी आचार्यले भने । 

साउदी अरब जान चाहनेले यति मात्र बुझेर हुँदैन । जानुअघि कुन कामका लागि जान लागेको हो ? सो कामको लागि सरकारले तोकेको पारिश्रमिक कति छ ? सबै बुझ्न जरुरी छ । सरकारले तोकेको पारिश्रमिक भन्दा कम हुनेगरी कुनैपनि सम्झौता कामदारले गर्नु हुँदैन । संझौतापत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा पर्नु हुँदैन ।  

आफू जुन कामको लागि जान लागेको हो त्यो कामबारे आफूमा सीप छ की छैन त्यो बुझ्न जरुरी रहेको दूतावासको भनाई छ । सीप नभएको भए सिकेर जानुपर्ने दूतावासको सुझाव छ । सीप जानेको छ भने त्यसको प्रमाणपत्र आवश्यक पर्छ, जुन पेश गर्न अनिवार्य छ । 

‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुःखको तुलना गर्नुहोस् । फाइदा हुने देखिए मात्र साउदी अरबमा काम गर्न आउनुपर्छ,’ उनले भने, ‘विश्वासिलो र भरपर्दो मेनपावर कम्पनीबाट वर्किङ भीसामा मात्र साउदी आउनुपर्छ ।’ 

विचौलियाहरूको विश्वास नगर्न र कुनै रकम कसैलाई दिनुपरेमा भरपाई वा तमसुक गरेर मात्र दिन दूतावासले आग्रह गरेको छ । भिजिट भीसामा साउदी पुगेको थुप्रै नेपालीहरू अहिले अलपत्र बनेका छन् । यसैकारण वर्किङ भीसामा मात्र साउदी आउन दूतावासको सुझाव छ । 

‘साउदी अरबमा कामदारको रूपमा आउन सेवा शुल्कको रूपमा न्युनतम लागत (भिषा तथा टिकट र सेवा शुल्क रोजगारदाताले दिने भएकोले) मात्र लाग्छ । बढी रकम कसैलाई बुझाउनु पर्दैन । दश बीसहजार भन्दा वढी पैसा दिनुभएको छ भने तपाईँ नेपालमा नै ठगीमा पर्दै हुनुहुन्छ भन्ने स्पष्ट हुनुहोस्,’ उनले भने । न्युज कारखाना

 


Author

थप समाचार
x